जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबारका लागि तय गरिएको विश्वासको मत जेठ ८ गते लिने गरी नयाँ मिति तोकिएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने जानकारी गराएका छन् ।
सत्ता गठबन्धन र पार्टीभित्रको असन्तुष्टिका कारण मुख्यमन्त्री यादवले फ्लोर क्रसको जोखिम देखेर विश्वासको मत लिनबाट पछि हटेको बताइएको छ ।
मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए । तर, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता बनेको हो । जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ ।
यसैबीच, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपाबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएपनि आन्तरिक असन्तुष्टि बढेको बताइएको छ ।
मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका १७, नेकपाका १५ र लोसपाका ८ सांसद रहेका छन् । यी चार दलको गरेर कुल ६२ सिट रहेको जुन बहुमतका लागि आवश्यक ५२ भन्दा बढी हो ।







































