वि.सं.२०८३ वैशाख ७ सोमवार

गोविन्द भट्टराई भन्छन्, ‘स्वर्णिम वाग्लेलाई १० देखि १२ हजार भोटले हराउँछु’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व गरेका गोविन्द भट्टराई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । तनहुँकै स्थानीय बासिन्दा उनी लगातार दोस्रो चोटि कांग्रेसबाट उठेका हुन् ।

तनहुँ १ मा यस अघि भएको उपनिर्वाचनमा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी बनेका थिए । यस पटक पनि रास्वपाले वाग्लेलाई नै उभ्याएको छ । भट्टराई र वाग्ले दुवै अर्थशास्त्री हुन् ।

अर्थशास्त्रमा पिएचडी गरिरहेका र इमानदार नेताको छवि बनाएका भट्टराईले यसअघि कुनै पदमा नहुँदा पनि ६० भन्दा बढी खानेपानी परियोजनाका काम गरेको श्रेय पाएका छन् । तनहुँका विकट गाउँहरूमा सडक पुर्‍याउने तथा खानेपानीका योजनामा लामो समय काम गरेकाले उनलाई तनहुँमा कतिपयले ‘पानी मान्छे’समेत भन्छन् ।

तनहुँमा कांग्रेसको विरासत फर्काउने अभियानका साथ चुनावमा होमिएका लागेका भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंशः

– तपाईँको क्षेत्रमा अहिले चुनावी माहौल कस्तो छ ?

देश एउटा विशेष परिस्थितिमा चुनावमा होमिएको छ । २३ र २४ गते भएको जेन-जी विद्रोह र त्यसका अनेक अवयवहरूका कारण देश अहिले एउटा ट्रान्जिसनल फेजमा छ । यो चुनावले देशलाई ठोस निकास दिने अपेक्षा आम पब्लिकको छ ।

बाध्यात्मक परिस्थितिमा चुनाव हुन लागे पनि यसले देशलाई निकास दिन्छ र देश रुपान्तरणको चरणमा हामी प्रवेश गर्छौँ भन्ने आशा धेरैमा पाएको छु । संविधानलाई लिकमा ल्याउने, डेमोक्रेसीलाई संकटमुक्त गराउने, देशले निकास पाउने र विकासका परियोजना सुरु हुने, भ्रष्टाचार अन्त्य हुने अपेक्षा र चाहना धेरैको छ । त्यसैले पनि चुनावी माहौल मैले राम्रो पाएको छु ।

विशेषगरी तनहुँ क्षेत्र नम्बर १ मा मतदाताहरूले परिवर्तन चाहनु भएको छ र त्यो परिवर्तन बदलिएको र परिवर्तित कांग्रेसबाट सम्भव हुन्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु । देश समुन्नत बनाउने संकल्पसहित कांग्रेसमा नेतृत्व परिवर्तन भएसँगै देशभर र विशेषगरि तनहुँमा कांग्रेसप्रतिको आस्था र विश्वास थप बढेको मैले पाएको छु ।

– प्रचारप्रसारमा के कस्ता रणनीति अपनाइरहनु भएको छ ?

मैले आजसम्म जसरी राजनीतिमा आफूलाई समाहित गरेँ, राजनीतिलाई आफ्नो धर्म मानेँ, कहिल्यै पनि अनेक तिकडम गरिनँ । मलाई तिकडम गरेर गरिने राजनीतिमा विश्वास लाग्दैन । म गर्वका साथ भन्छु- म ट्रान्सपारेन्ट (पूर्ण पारदर्शी) छु, मेरो राजनीति पनि क्रिस्टल क्लियर छ । मैले बोकेको प्रजातन्त्र, लोकतन्त्र र समाजवादको विचारले मलाई भन्छ– तिमी निर्धक्क जनतामाझ जाऊ ।

मसँग तनहुँका जनतासँग सँगै बसेर खाना खाने, खाजा खाने र सँगसँगै बाटोमा हिँड्नका लागि कुनै समस्या छैन । म यही माटोमा जन्मिएँ, यही माटोमा हुर्किएँ र यही माटोको समुन्नतिलाई मात्र सोचिरहेको छु । त्यसैले म घरघरमा मतदातासम्म पुगेर आफ्ना कुरा राख्दै छु । त्यस्तो विशेष रणनीति बनाएर आफूलाई ग्ल्यामराइज गर्ने पक्षमा म छैन । म जे छु, जस्तो छु, त्यसरी नै तनहुँवासीसँग घुलमिल भएर अगाडि बढ्न चाहन्छु ।

– युवा मतदाता प्रभावित गर्न तपाईँका एजेन्डा के छन् ?

युवा मतदाताहरूको एउटै चाहना छ– स्थायी सरकार, भ्रष्टाचार शून्य राज्य र रूपान्तरण । लोकतान्त्रिक नेपाल थप मजबुत होस् भन्ने उहाँहरूको चाहनाको मैले सम्मान गरेको छु । २०५४ सालदेखि मैले निरन्तर भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएको छु, म यसमा अडिग छु । युवा आवाज भोलिको नेपाल हो, आजको युवा शक्ति भोलि यो देशको सबैभन्दा ठूलो धन हो ।

अहिले युवाको सबैभन्दा जायज माग भनेको ‘लिभेबल नेपाल’ हो, यसका लागि नीति निर्माण तहमा पैरवी गर्न म तयार छु । त्यस्तै, युवाहरूलाई रोजगारीका अवसर बढाउने र उनीहरूको कल्पनाको नेपाल बनाउने कुरामा म सबै विषयलाई समेटेर जानेछु । यही कुराका लागि मैले आफ्नो निर्वाचन क्षेत्रमा एउटा विशेष युवा कमिटी बनाएको छु जसको सल्लाह लिएर म अगाडि बढ्नेछु । प्रारम्भिक रूपमा चाहिँ, म युवाहरूमाझ प्रण गर्न चाहन्छु– तपाईँको कल्पना र सपनाको नेपाल बनाउन म हर सम्भव लाग्नेछु, तपाईँका मुद्दालाई नीति बनाउने स्थानमा स्पष्ट आवाजमा सम्बोधन गर्नेछु ।

यो युवा मतदातालाई प्रभावित गर्नका लागि भन्दा पनि अहिलेको अपरिहार्य कुरा हो– सूचना प्रविधि । तनहुँ आइटी क्षेत्रमा व्यापक सम्भावना भएको ठाउँ हो, यहाँका युवाहरूले आफ्नो प्रतिभा विश्वमा देखाइरहेका छन् र अब म यो क्षेत्रमा आइटी क्षेत्रको विकासका लागि थप विशेष कार्यक्रमहरू ल्याउँदै छु, हाम्रा युवालाई थप अवसर प्रदान गर्नेछु । मेरो अर्को उद्देश्य भनेको अहिलेको विकराल समस्या– बेरोजगारीलाई सकेसम्म समाधान गर्ने हो । त्यसका लागि म तनहुँमा लगानीको वातावरण बनाएर युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्नेछु ।

– जेन-जी आन्दोलनले त पुराना दल र नेताहरू सबै फेर्न खोजेको होइन र ?

जेन-जी आन्दोलनको मर्मलाई हामीले यो ढंगबाट बुझ्नु हुँदैन । जेन-जी आन्दोलनले नेता र दल होइन, दल र नेताहरूमा भएको अपरिष्कृत सोच र प्रवृत्तिलाई फेर्न खोजेको हो । समयानुकूल नभएका दल, देशभन्दा आफूलाई स्वार्थमा राखेका नेतालाई जेन-जी आन्दोलनले फेर्न खोजेको हो । जेन-जीको चाहनाअनुरूप नै नेपाली कांग्रेस रूपान्तरित भएको छ, नेपाली कांग्रेस फेरिएको छ । त्यसैले समयअनुसार अपडेट भएका दल र हामीजस्तो युवा सोच भएका उम्मेदवारलाई जेन-जी उमेर समूहका सबैको साथ र सहयोग रहनेमा म विश्वस्त छु । यो लामो राजनीतिक यात्रामा हामीले जे अनुभव हासिल गरेका छौँ, त्यसलाई अब कार्यान्वयन गरेर देशको काँचुली फेर्नुछ । अब हामीले नयाँ पुस्तालाई एउटा सुन्दर नेपाल हस्तान्तरण गर्नुपर्ने छ ।

– यसअघि निर्वाचनमा तपाईँले पराजय भोग्नुभयो, त्यति बेला पार्टी एक थियो । अहिले पार्टी दुई फ्याक भएको बेला तपाईँ उही उम्मेदवारसँग प्रतिस्पर्धामा हुनुहुन्छ ? जित कसरी निकाल्नुहुन्छ ?

सबैभन्दा पहिले हामीले के बुझ्नु पर्छ भने नेपाली कांग्रेस दुई फ्याक भएको छैन । यसअघिको संस्थापनले अहिलेका सभापति गगन थापाज्यूलाई स्वीकार गरिसकेको छ, उहाँको हस्ताक्षरमा चुनावमा नेपाली कांग्रेस होमिएका छौँ । जे भएको छ, त्यो कांग्रेस र पूरै देशको हितमा भएको हामीले स्वीकार गर्न बिर्सनु हुँदैन । अब फेरिएको कांग्रेसलाई थप सशक्त बनाएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।

र, म यही अन्तर्वार्ताबाट स्पष्टरुपमा भन्न चाहन्छु– मेरो सभापति अहिले गगन थापाज्यू हुनुहुन्छ, उहाँको नेतृत्वको कांग्रेसले देश अब बदल्नेछ । कुरा रह्यो, मेरा प्रतिस्पर्धी पुरानै भन्ने कुरा । म उहाँको बारेमा भन्दा पनि यहाँका मतदाताको कुरा चाहिँ गर्वसाथ भन्न सक्छु– उहाँहरू अहिले पछुताइरहनु भएको छ । तनहुँ मेरो माटो हो, म खेलेबढेको ठाउँ हो– तनहुँको माटोको सुगन्ध र तनहुँवासीको स्नेहको नतिजा हामीले २१ फागुनपछि थाहा पाउनेछौँ । मेरो जित निश्चित भएको अहिले हामीसँग भएका आँकडाले देखाएको छ । यस पटक हामीले कम्तीमा पनि १० देखि १२ हजार मतान्तरले जित निकाल्ने छौँ ।

– रास्वपाले त तपाईँको मुख्य प्रतिस्पर्धीलाई भावी अर्थमन्त्री भनेर बजेट लेख्न आग्रह गरिसकेको छ । अर्थशास्त्रमा पिएचडी गरिरहनुभएका तपाईँ पनि भावी अर्थमन्त्रीको दाबेदार हो कि ?

संगठन सञ्चालनमा मेरो एउटा लामो अनुभव छ । हिजो नेविसंघमा सभापति हुँदा होस् या तरुण दललाई नेतृत्व गर्दा नै किन नहोस्, मैले आफ्नो क्षमता एक किसिमले प्रदर्शन गरिसकेको छु । अर्कोतिर मैले अर्थशास्त्रमा पिएचडी गरिरहेको छु, नेपाली अर्थतन्त्र र यसबारे गहनरुपमा बुझिरहेको छु । यसको अर्थ हो, जिम्मेवारी पाएको खण्डमा म अर्थमात्र होइन जुनसुकै मन्त्रालय पनि सम्हाल्न सक्छु । मन्त्रालयहरूलाई विशेष नेतृत्व प्रदान गर्न सक्छु । त्यो परिवर्तन हाम्रो पार्टीको सरकार बनेर मैले जिम्मेवारी पाएको खण्डमा प्रमाणित पनि गर्नेछु ।

अर्को कुरा, अहिले नै म यो र त्यो भनेर दाबी गर्दै आम मानिसलाई वा तनहुँवासीलाई ‘म्यानिपुलेट’ गर्न चाहन्न । किनकि यसका आफ्नै पद्धति हुन्छन्, आफ्नै विधि र नीति हुन्छन् । नेपाली कांग्रेस आफ्नो विधानमा अगाडि बढ्ने पार्टी हो, त्यसैले समय आएपछि मैले मन्त्रालयको जिम्मेवारी लिने कुरा स्वतः आइहाल्छ ।

फेरि तपाईँले भन्नुभयो, मेरो प्रतिस्पर्धीलाई उहाँको पार्टीले बजेट लेख्नु भनेर गरेको निर्देशनबारे । यही कुरा कति आलोकाँचो हो भन्ने तपाईँ स्वयंले पनि बुझ्नु भएकै छ । निर्वाचनमा जनताको मत नै नजिती यस्ता परिकल्पना पहिले पनि भएका हुन् र नेपाली जनताले यस्ता परिकल्पनालाई अहिले पनि ‘भित्ते’ भनेर टिप्पणी गरिरहेका हुन्छन् । यदि उहाँले अहिले केही तयारी गर्नुभएको छ भने त्यसलाई रोक्दा हुन्छ, कम्प्युटरको त्यो फाइललाई रिसाइकल बिनतिर पठाउँदा हुन्छ । उहाँ चुनाव हार्दै हुनुहुन्छ ।

– कांग्रेसमा आएको विभाजनबारे तपाईँको राय के छ ? शेरबहादुर देउवा अब गगन थापाको नेतृत्वमा आउनुहोला कि उहाँको राजनीति सकियो ?
फेरि पनि प्रस्ट के हुनुपर्छ भने कांग्रेस विभाजित भएको छैन । हामी एकजुट थियौँ, छौँ र रहनेछौँ । यो निर्वाचनमा हामी एक भएर नै अगाडि बढेका छौँ । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भएको हो, पार्टी फुट भएको होइन । अनि शेरबहादुर दाइ नेपाली कांग्रेसको पूर्व सभापति हुनुहुन्छ, उहाँलाई पार्टीले सधैँ सम्मानित स्थान दिनेछ । उहाँले आफैँले पनि अब आफूले सक्रिय राजनीति नगर्ने बताइसक्नु भएको छ । उहाँको अनुभवबाट अब पार्टीले उहाँसँग सल्लाह र सुझाव लिएर अगाडि बढ्छ ।

– फेरि चुनाव तिरै फर्कौँ, निर्वाचनका लागि तपाईँले सुझाव संकलन गर्न थाल्नुभएको रहेछ । कस्ता सुझाव पाउनु भएको छ ?
मैले डिजिटल माध्यमबाट सुझाव संकलन गरिरहेको छु । अब प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुको विकल्प नै छैन । मलाई तनहुँका झन्डै २० हजार मतदाताले अहिलेसम्म सुझाव दिइसक्नु भएको छ । मेरो डिजिटल टिमले त्यसलाई अध्ययन गर्दै छ, र प्रारम्भिक रूपमा यहाँका मतदाताले यहाँको माटोको विषय उठाउनु भएको छ ।

कतिपयले मलाई यहाँका विकासका विषयमा आफ्ना माग राख्नु भएको छ । र, सुझाव संकलनमा नै धेरैले मलाई विश्वास दिलाउनु भएको छ– यस पटक उहाँहरूको रोजाइमा यहाँको माटो चिनेको, हिजो गरेको कामलाई आधार बनाएर मलाई मत दिनु हुनेछ । यो हार्दिकताका लागि म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूले उठाउनु भएका मागलाई लिएर अगाडि बढ्नेछु, मैले उहाँहरूका मागलाई एक एक गरेर पूरा गर्ने विश्वास पनि दिलाउन चाहन्छु ।

– चुनावमा कति पैसा खर्च गर्दै हुनुहुन्छ ? त्यसको स्रोत के हो ?

निर्वाचनहरू सधैँ कम पैसामा गर्नुपर्छ भन्ने मेरो सोच हो । उम्मेदवारको तर्फबाट खर्च हुनु नै हुँदैन । यस्तो भएमा मात्र देशमा भ्रष्टाचार कम हुन्छ । यो निर्वाचनमा मैले अत्यन्त कम खर्च गर्दै छु– जुन अति आवश्यक हुन् । र, यसका लागि मलाई मेरा शुभेच्छुक, पार्टी समर्थकहरूले नै हामी यसको व्यवस्थापन गर्छौँ, तपाईँले चिन्ता नलिनुस् भन्नु भएको छ । मैले उहाँहरूलाई खर्चलाई न्यूनीकरण गरेर अगाडि बढ्न सल्लाह दिएको छु ।

ranechhap