काठमाडौं । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएपछि अब नवीन समझदारीको बाटो पहिल्याउने विश्वास व्यक्त गरेका छन्।
उनले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि व्यक्तिगत रूपमा आफूलाई दुख लागेको बताए।
बाबुरामबारे श्रेष्ठको भनाइ जस्ताको त्यस्तै-
आदरणीय डा.बाबुराम भट्टराईज्यू,
गुरु गोरखनाथलाई ढोगेर जीवनको उत्तरार्द्धमा चुनावी राजनीतिको अर्को संस्करण प्रारम्भ गर्नुभएको तपाईँले यस पटकको चुनावी यात्रामा पनि ब्रेक लगाउनु भएछ ! व्यक्तिगत रूपमा दुःखी भएको छु।
आजको दिनमा नमिठो कुरा गर्न चाहन्न, तर तपाईँ समेतको नेतृत्व रहेको सशस्त्र द्वन्द्वमा नहुनुपर्ने धेरै भए। मन्दिरमा क्षति पुर्याउने, पुजारीलाई दुर्व्यवहार गर्ने, धार्मिक व्यक्तिको मानमर्दन गर्ने काम भएको नेपाली समाजको विस्मृतिमा गएको छैन भन्ने ठान्छु। उमेर, अवस्था र उतारचढावको कारणले पनि होला, तपाईँमा पछिल्लो समय पैदा भएको धार्मिक भावले तपाईँको विगतलाई केही हदसम्म क्षमा प्राप्त भएको छ।
‘आखिर श्रीकृष्ण रहेछन् एक’ यो तत्वज्ञान एक जना क्रान्तिकारीमा प्राप्त हुनु सुखद नै थियो र छ।
चुनावी राजनीतिको मैदान छाडेपछि तपाईँले अब अनुभवी र परिपक्व नेताका रूपमा भूराजनीतिक दुष्चक्रमा फस्दै गएको देशको विद्यमान परिस्थितिलाई सही ट्र्याकमा ल्याउन नवीन समझदारीको बाटो पहिल्याउने, विचार निर्माण गर्ने र जनमत बनाउने कामको अगुवाइ गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। राजाको अस्तित्व अस्वीकार गरेर सुरक्षित नेपाल सम्भव छैन भन्ने बोध जसरी जीवनको उत्तरार्द्धमा बिपी कोइरालालाई भएको थियो, त्यो उचाइबाट तपाईँले पनि सोच्नुहुनेछ भन्ने विश्वास छ।
सजिलो र भिडको पछि लागेर तपाईँले पक्कै आफ्नो आगामी बाटो तय गर्नुहुने छैन। विचार, सिद्धान्त बिनाको आवेगको राजनीतिको अङ्ग बन्नुहुने छैन भन्ने पनि विश्वास लिएको छु। तपाई जत्तिको जनप्रतिनिधि गोरखाले यस पटक पनि गुमाएको छ।









































