कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका- ८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् ।
पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






































