काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा राख्ने र ऋण लिएर चलाउनेबीचको दूरी फराकिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा पैसा राख्नेहरु बढे पनि त्यस अनुसार ऋण लिनेहरु नबढ्दा निक्षेप र कर्जा खाताबीचको खाडल चुलिँदै गएको हो ।
नेपालको बैंकिङ प्रणालीमा निक्षेपकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहे पनि कर्जा लिनेहरूको सङ्ख्या भने निकै सुस्त गतिमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने निक्षेप खाताको सङ्ख्या ६ करोड नाघ्दा कर्जा खाता सङ्ख्या २० लाख पनि पुग्न सकेको छैन ।
३० जना बचतकर्ता बराबर एक ऋणी
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या ६ करोड ८ लाख ७१ हजार १३३ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खाता ५ करोड ७२ लाख २६ हजार ३०३ रहेको छ ।
कर्जा खाताको सङ्ख्या चालू आ.व.को कात्तिक मसान्तसम्म १९ लाख ९४ हजार ९१२ पुगेको छ । २०८१ को कात्तिक मसान्तसम्म यस्तो खाता १९ लाख १८ हजार ९२६ थियो ।
यसरी हेर्दा बैंकिङ प्रणालीमा पैसा जम्मा गर्ने करिब ३० जना निक्षेपकर्ता बराबर ऋण चलाउने व्यक्ति तथा संस्था जम्मा १ जनामात्र देखिन्छ ।
गत वर्ष २०८१ कात्तिकको तुलनामा यस वर्ष निक्षेप र कर्जा दुवैमा वृद्धि देखिन्छ । तर, वृद्धिको अनुपातमा ठूलो भिन्नता छ । एक वर्षको अवधिमा निक्षेप खाताको सङ्ख्या ३६ लाख ४४ हजार ८३० ले बढेको छ । कर्जा खाताको वृद्धि भने कछुवा गतिमा देखिन्छ । एक वर्षको अवधिमा कर्जा खाताको सङ्ख्या भने जम्मा ७५ हजार ९८६ ले बढेको छ ।
कुल कर्जा सङ्ख्या बढेको देखिए पनि विकास बैंकहरूमा भने घटेको छ । वाणिज्य बैंक र वित्त कम्पनीमा कर्जा खाता बढे पनि विकास बैंकमा भने एक वर्षको अवधिमा झण्डै १३ हजार कर्जा खाता घटेका छन् । विकास बैंकहरूमा २०८१ कात्तिकमा २ लाख ७९ हजार ५२७ कर्जा खाता रहेकामा २०८२ कात्तिकमा २ लाख ६६ हजार ५४६ मा झरेको छ ।
किन बढ्दैछ निक्षेप र कर्जा खाताबीचको खाडल ?
लामो समयदेखि बैंकिङ प्रणालीमा निक्षेप थुप्रिने तर कर्जाको माग नहुने समस्या देखापरेको छ । जसले गर्दा बैंकिङ प्रणालीमा खर्बौं लगानीयोग्य पुँजी थुप्रिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । तर कर्जा प्रवाह भने हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ५७ खर्ब १५ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको तथ्याङ्कमा देखिन्छ ।
निक्षेप राख्नका लागि जसरी खाता खोल्नेहरू बढिरहेका छन् त्यस अनुसार कर्जा लिएर उद्यम गर्न चाहानेहरु बढ्न सकेका छैनन् । बैंकिङ विज्ञका अनुसार कर्जा खाताको सुस्त वृद्धिले बजारमा नयाँ उद्यमशीलता र लगानीको वातावरण अझै उत्साहजनक नरहेको देखाउँछ ।
त्यसबाहेक बैंकहरूको ध्यान साना तथा मझौला ऋणीभन्दा ठूला ऋणीलाई कर्जा प्रवाह गर्नमा केन्द्रित हुँदा ऋणीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन सकेको नसकेको हो । त्यस्तै निक्षेप र कर्जा खाताबीचको खाडलले नेपालमा बैंकसम्म पुग्ने पहुँच विस्तार भए पनि बैंकबाट पैसा लिएर उद्यम गर्ने पहुँच अझै पनि आम नागरिकसम्म पुग्न नसकेको बताउँछन्, बैंकिङ विज्ञ भुवन दाहाल ।
‘अझै पनि नेपालीहरू ऋण लिएर उद्यम गर्न हिचकिचाउँछन् । उद्यमशीलता भन्दा जागिर रोज्ने धेरै छन् । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा खाता बढ्न सकेन ।’ उनले भने ।
बैंकिङ विज्ञ भुवन दाहाल ।
बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा खाता नबढ्दा मुलुकको अर्थतन्त्र थप सङ्कटमा धकेलिँदै गएको सङ्केत देखिने बताउँछन्, अर्थविद् केशव आचार्य । आर्थिक क्रियाकलापलाई चलायमान बनाउन उद्योग र व्यवसाय चलायमान हुनुपर्नेमा पछिल्लो समय कर्जाको माग नहुँदा अर्थतन्त्र शिथिल बनेको उनको विश्लेषण छ ।
आचार्यका अनुसार मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने मुख्य इञ्जिन उद्योग–व्यवसाय नै हुन् । तर, अहिलेको परिस्थितिमा नयाँ कर्जा खाता नबढ्दा त्यसको नकारात्मक असर चौतर्फी रूपमा देखिने उनको चेतावनी छ ।
उनी भन्छन्, ‘कर्जा खाता खुलेनन् भने आर्थिक क्रियाकलाप सङ्कुचन आउँछ । उत्पादन घट्छ । उद्योग व्यवसाय चलायमान हुँदैनन् । उद्योग व्यवसाय चलायमान नभएपछि रोजगारी सिर्जना हुने मार्ग प्रशस्त हुँदैन । जसले अर्थतन्त्रलाई शिथिल पार्छ ।’
प्रशस्त कर्जा खाता खोलेर कर्जा प्रवाह सहज भएको भए स्वदेशमै लाखौँलाई रोजगारी सिर्जना गर्न सकिने सम्भावना थियो । स्वदेशमै रोजगारीका अवसर बनेको भए नेपाली युवाहरू यसरी बाध्य भएर विदेश पलायन हुनुपर्ने अवस्था नआउने उनको भनाइ छ ।
अहिले उद्योगहरू पूर्ण क्षमतामा चल्न नसक्नुलाई अर्थतन्त्रको मुख्य समस्याका रूपमा उनले औँल्याए । हाल नेपालका उद्योगहरू औसत ४४ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् । यसरी उद्योग आधाभन्दा कम क्षमतामा चल्नु भनेको आर्थिक क्रियाकलाप ठप्प हुने सङ्केत भएको उनको तर्क छ ।
अर्थविद् आचार्यका अनुसार अहिलेको मुख्य चुनौती भनेकै निजी क्षेत्रको मनोबल बढाएर कर्जा प्रवाह वृद्धि गर्नु र उद्योग–व्यवसायलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण तयार गर्नु हो । समयमै यसतर्फ ध्यान नदिने हो भने आर्थिक मन्दी झन् गहिरिने उनको ठहर छ ।
अर्थविद् केशव आचार्य
उद्यमशील कर्जा बढाउन सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदल, २०८२ का सदस्य समेत रहेका बैंकिङ विज्ञ दाहालले व्यवसाय कर्जा सरह र सहजरुपमा पाउने व्यवस्था गर्न सुझाव दिएका छन् । कार्यदलले प्रतिवेदनमार्फत बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँसम्म व्यवसाय कर्जा सहजै पाउने व्यवस्था गर्न सुझाएको छ ।
कार्यदलले दिएको सुझावअनुसार हालसम्म अधिकांश बैंकिङ क्षेत्र (सरकारी निजी दुवै) मा थोरै वा धेरै कर्जा लिन लामो प्रक्रिया पुर्याउनुपर्ने हुँदा यसलाई सरल र ग्राहकमुखी बनाई कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्दछ । जसबाट धितो भएका सामान्य साना ग्राहकले पनि ऋण पाई न्यून सङ्ख्यामा रहेका यस्ता ऋणीको सङ्ख्या बढ्ने र अर्कोतर्फ केही मात्रामा तरलता उपयोग भई आर्थिक गतिविधि बढ्ने देखिन्छ ।
उद्यमशील कर्जाको सीमा बढाउन सिफारिस गर्दै यस्तो कर्जाको सीमा १० लाख पुर्याउन सुझाव दिइएको छ । जसले ठूलो सङ्ख्यामा रहेको सक्षम लघुवित्त सदस्यहरूका साथै संस्था पनि लाभान्वित हुने र आर्थिक गतिविधि चलामान बनाउन योगदान पुर्याउनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले ठूला ऋणसँगै ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउन केन्द्रित हुनुपर्ने विज्ञ दाहालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाले उद्यमीहरूलाई वित्तीय साधन उपलब्ध गराउनुका अतिरिक्त अर्थतन्त्रको मौद्रिकीकरणलाई समेत सघाउ पुर्याइरहेको हुन्छ । त्यसका अतिरिक्त उत्पादन, आय, रोजगारी वृद्धि, उद्यमशीलता र व्यावसायिकता विकासमा समेत उक्तिकै भूमिका खेलेको हुन्छ ।
नेपालको अर्थतन्त्रको संरचना उत्पादनमा आधारित ग्रामीण अर्थतन्त्र र उपभोगमा आधारित सहरी अर्थतन्त्रबीचमा सन्तुलन ल्याउन लामो समयदेखि ग्रामीण क्षेत्रमा कर्जाको उपलब्धतालाई प्रवर्धन गरिँदै आएको छ । तर, यो पर्याप्त नभएकाले थप प्रवर्धन गर्ने कार्यक्रम ल्याएर कर्जा बढाउनु पर्ने उनको सुझाव छ । बैंकहरूलाई यस्तो कर्जा प्रवाह गर्न प्रोत्साहन विधिमार्फत विस्तार गर्न जरुरी रहेको दाहालको भनाइ छ ।









































