वि.सं.२०८३ वैशाख २६ शनिवार

विद्युतीय गाडीप्रति पश्चिमी देशमा मोहभंग, नयाँ प्रविधिप्रति आकर्षित !

khanepani

काठमाडौँ । विश्वभर सवारी साधनप्रतिको मानिसको सोच, विद्युतीय गाडीप्रतिको आकर्षण र चिनियाँ गाडीप्रतिको धारणा तीव्र रूपमा बदलिँदै गएको एक अध्ययनले देखाएको छ । इप्सोसले सार्वजनिक गरेको ‘ग्लोबल मोबिलिटी रिपोर्ट २०२६’ अनुसार जापानका ९० प्रतिशत मानिसले चिनियाँ गाडी नकिन्ने बताएका छन् भने फ्रान्स, जर्मनी, अमेरिका र क्यानडाजस्ता देशमा विद्युतीय गाडीप्रतिको आकर्षण घट्दो क्रममा छ ।

३१ देशमा गरिएको सर्वेक्षणमा २३ हजार ७२२ जनाले सहभागिता जनाएका थिए । अध्ययनअनुसार विश्वभर औसत ४३ प्रतिशत मानिसले ‘गाडी बिना जीवन असम्भव’ भएको बताएका छन् । २२ देशका नागरिकले कारलाई नै आफ्नो पहिलो रोजाइको यातायात मानेका छन् । अमेरिकामा ६५ प्रतिशत मानिस कारबिना बस्न नसक्ने बताउँछन् ।

तर भारतको अवस्था भने फरक देखिएको छ । भारतका ६२ प्रतिशत मानिसले सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउन चाहेको बताएका छन् ।

प्रतिवेदनले विद्युतीय गाडीप्रति पश्चिमी देशहरूको मोहभंग बढ्दै गएको संकेत पनि गरेको छ । फ्रान्स, जर्मनी, अमेरिका र क्यानडाजस्ता देश, जसलाई पहिले ईभी प्रवर्द्धनका प्रमुख समर्थक मानिन्थ्यो, अहिले विस्तारै त्यसबाट टाढिँदै गएको अध्ययनले देखाएको छ । जापानमा त ईभीप्रतिको समर्थन सूचकांक २८ प्रतिशतले घटेको छ ।

यसको ठीक विपरीत इन्डोनेसिया र मेक्सिकोमा ६०–६० प्रतिशत तथा चिलीमा ५७ प्रतिशत मानिस विद्युतीय गाडी अपनाउन उत्साहित देखिएका छन् । यसले विकासशील देशहरूमा ईभी बजार तीव्र गतिमा विस्तार हुन सक्ने संकेत दिएको छ ।

भारतमा विद्युतीय गाडीप्रतिको आकर्षण ४० प्रतिशत रहेको छ, जुन विश्व औसत ४७ प्रतिशतभन्दा केही कम भए पनि युरोप र उत्तर अमेरिकाभन्दा राम्रो अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

सेल्फ–ड्राइभिङ अर्थात् चालकबिनाको गाडीबारे पनि देशअनुसार धारणा फरक देखिएको छ । विश्वभर ३६ प्रतिशत मानिसले यस्तो प्रविधिलाई असुरक्षित मानेका छन् । फ्रान्समा यो नकारात्मक धारणा ३७ प्रतिशत, नेदरल्यान्ड्समा ३५ प्रतिशत र अमेरिकामा २५ प्रतिशत रहेको छ ।

तर भारतमा भने ४७ प्रतिशत मानिसले सेल्फ–ड्राइभिङ प्रविधिलाई सुरक्षित मानेका छन्, जुन विश्व औसतभन्दा धेरै हो । यसले नयाँ प्रविधिप्रति भारतीय उपभोक्ताको आत्मविश्वास अपेक्षाकृत उच्च रहेको देखाउछ ।

अध्ययनले भारतीय अटोमोबाइल बजारलाई विश्वकै खुला र प्रतिस्पर्धात्मक बजारमध्ये एकका रूपमा चित्रण गरेको छ । भारतमा १६ प्रतिशत मानिस कुनै प्रविधि कम्पनीबाट गाडी किन्न इच्छुक छन् भने २२ प्रतिशतले परम्परागत अटोमोबाइल कम्पनीलाई प्राथमिकता दिएका छन् ।

तर सबैभन्दा ठूलो तथ्य के देखिएको छ भने ६२ प्रतिशत उपभोक्ताले कुनै निश्चित कम्पनी वा ब्रान्डलाई प्राथमिकता दिएका छैनन् । यसले टाटा र महिन्द्राजस्ता भारतीय कम्पनीसँगै गुगल, साओमीजस्ता प्रविधि कम्पनीका लागि पनि ठूलो अवसर खुला रहेको संकेत गर्छ ।

प्रतिवेदनले जापानमा ९० प्रतिशत मानिसले चिनियाँ गाडी नकिन्ने बताएका छन् भने दक्षिण कोरियामा पनि चीनविरोधी धारणा बलियो रहेको उल्लेख छ ।

यता क्यानडामा ४८ प्रतिशत मानिसले अमेरिकी गाडी नकिन्ने बताएका छन् । विश्व बजारमा बढ्दो राजनीतिक र आर्थिक अविश्वासले उपभोक्ताको रोजाइमा प्रभाव पारिरहेको अध्ययनले देखाएको छ । प्रतिवेदनअनुसार ४२ प्रतिशत मानिसले कुनै न कुनै देशको गाडी किन्ने विषयमा हिच्किचाहट देखाएका छन् । यसमा चिनियाँ गाडी सबैभन्दा माथि रहेको छ । चिनियाँ गाडीको बहिष्कार दर ४१ प्रतिशत पुगेको छ भने अमेरिकी गाडीप्रति यस्तो धारणा करिब २४ प्रतिशत रहेको छ ।

ranechhap