काठमाडौं । यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) को अवुधावीस्थित नेपाली दूतावासले समयमा काम नगर्दा पीडित परिवार क्षतिपूर्ति र बीमा रकम पाउनबाट वञ्चित भएका हुन् ।
नयाँ सरकार बनेपछि पनि पीडित परिवारले न्याय नपाएपछि यूएईमा रहेका नेपालीहरूको संस्था ‘नेपाली समाज यूएई’ले सरकारको ध्यानाकर्षण गराएको छ । उसले क्षतिपूर्तिको पहलकदमी लिन नेपाल सरकारलाई अनुरोध गरेको छ ।
नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, पार्षद अध्यक्ष कमल गिरी र महासचिव जीवन पंगेनीले संयुक्त रूपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), परराष्ट्रमन्त्री शिशिर खनाल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई पत्र पठाउँदै पीडित परिवारले कानुनी रूपमा पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउने पहल गर्न माग गरेका छन् ।
नेपाली दूतावास अबुधाबी मार्फत पठाइएको पत्रमा विगत पाँचदेखि सात वर्षयता विभिन्न दुर्घटना, कार्यस्थलका घटनाहरू तथा सडक दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएका नेपाली श्रमिकका परिवार अझै न्यायबाट वञ्चित रहेको उल्लेख छ।
पत्रमा झापाका ख्यामराज प्रधान, पाल्पाका भोजबहादुर सारु, काभ्रेका लक्ष्युराम तामाङ, रोल्पाका रामबहादुर ओली र स्याग्जाका दिपेश रेग्मी क्षेत्रीको नाम उल्लेख गर्दै उनीहरूका परिवारले अदालतबाट निर्णय भइसकेपछि पनि क्षतिपूर्ति रकम प्राप्त गर्न नसकेको जनाइएको छ।
नेपाली समाज यूएईका अनुसार पत्रमा केही प्रतिनिधिमूलक घटना मात्र सार्वजनिक गरिएको हो । क्षतिपूर्ति र बीमा पाउनुपर्नेहरू यस्तै प्रकृतिका सयौं मुद्दा अलपत्र अवस्थामा छन्।
अध्यक्ष मोक्तानका अनुसार यूएईका अदालतले फैसला गरिसकेका तथा बीमा कम्पनीले रकम भुक्तानी गर्नुपर्ने धेरै घटनामा आवश्यक समन्वय र कूटनीतिक पहल नहुँदा पीडित परिवारले समयमा राहत पाउन सकेका छैनन्।
‘नेपाली दूतावास र सम्बन्धित निकायले प्रभावकारी रूपमा पहल गर्न नसक्दा धेरै परिवार न्यायबाट वञ्चित भएका छन्,’ उनले भने, ‘कतिपय परिवार वर्षौंदेखि क्षतिपूर्तिको प्रतीक्षामा छन्।’
नेपाली समाज यूएईले स्थानीय अदालतमा विचाराधीन मुद्दाको कानुनी प्रक्रियालाई तीव्र बनाउन तथा फैसला भइसकेका घटनामा रकम असुलीका लागि नेपाल सरकार, दूतावास र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
मोक्तानका अनुसार कतिपय अवस्थामा निश्चित समयसिमा भित्र बीमा रकमको दावी नगर्दा श्रमिकले क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपर्नेछ । दूतावासका कर्मचारीले काम नगरेको भन्दै बेलाबखत आलोचित हककुदै आएको छ ।
केही महिना अघि परिबन्धले जेलमा परेका काठमाडौं मूलपानीका एक श्रमिकलाई छुटाउन कानुनी सहयोग माग्न दूतावास पुगेका पीडितका दाजुलाई दूतावासका स्थानीय कर्मचारीले सहयोग नगरेको र दुव्र्यवहार गरेको पीडितले आरोप लगाएका थिए ।
यूएईमा क्रियाशील ६६ वटा नेपाली संघसंस्थाको समर्थनमा पठाइएको उक्त पत्रमा श्रमिकका परिवारलाई न्याय र आर्थिक सुरक्षा दिलाउन ढिलाइ हुन नहुने उल्लेख गरिएको छ।
सन् १९९० मा स्थापना भएको नेपाली समाज यूएई यूएईमा रहेका नेपालीहरूको सबै भन्दा पुरानो सामाजिक संस्थामध्ये एक हो। हाल यूएईमा सात लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन्।









































