काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सो मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
निलम्बित सांसद सिंहसहितको भ्रष्टाचारको मुद्दा अघि पेसीमा रहेको काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप अधिकारसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ नसिकएकाले इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।
मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको थियो । उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत,भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अख्तियारले धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७०० बिगो माग दाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो ।
त्यस्तै, उपभोक्ता समितिको अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ, माइस्थान मन्दिरको सौन्दर्यीकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभादेवी खत्वेसँग १ लाख ५० हजार, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ, उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।









































