वि.सं.२०८३ वैशाख २८ सोमवार

पुरानो माओवादी म्याद सकिएको पार्टी हो : राम कार्की

khanepani

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता राम कार्कीले प्रचण्ड नेतृत्वको साबिक नेकपा माओवादी केन्द्र म्याद सकिएको पार्टी भएको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित केन्द्रीय समिति बैठकमा पार्टीको राजनीतिक मस्यौदामाथि छलफल गर्दै उनले पुरानो माओवादीले तेस्रो बाटो अपनाउन नसक्दा म्याद सकिएको बताएका हुन् । कार्कीले २०६३÷६४ पछि पनि माओवादीले युद्धलाई निरन्तरता दिएको भए भारतीय माओवादीको हालतमा पुग्ने जिकिर गरे ।

‘२०६३/६४ पछि माओवादीले तेस्रो बाटो अपनाउन जरुरी थियो । कार्ल मार्क्स, लेनिनबाट शिक्षा लिँदै तेस्रो बाटो अपनाउनु पर्थ्यो । तर तेस्रो बाटोबारे कहिल्यै छलफल भएन । अध्ययनका लागि पुरानो माओवादी म्याद सकिएको पार्टी छँदैछ’, उनले भने ।

नेपालको इतिहासमा २०६३/६४ साल एउटा महत्त्वपूर्ण घुम्ती भएको उनले बताए । माओवादीले पहिले सर्वहारा वर्गको अधिनायकत्वको कुरा गरेको तर सम्झौतासम्म आइपुग्दा प्रणालीलाई कसरी स्थापित गर्ने भन्ने विषयमा गम्भीर छलफल नभएको कार्कीको भनाइ छ ।

‘एकथरी माओवादीले युद्धलाई नै निरन्तरता दिने कुरा गरे । त्यो आवश्यकता थिएन । युद्धलाई निरन्तरता दिएको भए भारतको छत्तीसगढ हेर्दा हुन्छ । त्यहाँ केही वर्षभित्र हजारौँले आत्मसमर्पण गरेका छन् । हजारौँको हत्या भएको छ’, उनले भने, ‘बाँकी केहीलाई पनि अंग्रेजी यस वर्षको अन्त्यसम्ममा सखाप पार्ने भनेर भारत सरकार लागेको छ । विचारको सखाप त नहोला । जसले निरन्तर युद्ध गरिराख्नुपर्छ भन्थ्यो । हतियार बिसाउनै हुँदैन भन्थ्यो । त्यस पक्षको स्थिति भारतमा त्यस्तो बन्न पुगेको छ ।’

कार्कीले मस्यौदा बनाउँदा पहिला एक जना मेधावी नेताले काहीँ बसेर दस्ताबेज लेख्ने र त्यो दस्ताबेज तलसम्म पठाउने चलन रहेको स्मरण गरे त्यस्तो दस्ताबेज बहुमतले पारित भएमा जसको नीति त्यही नेता चलन कम्युनिस्ट पार्टीमा रहेको उनले बताए ।

दुई सय मानिस जम्मा गरेर मिटिङ गर्न गाह्रो भइरहेको बेला नवयुवाहरूले १०औँ हजारको मिटिङ दुई घण्टामै गराइदिएकोतर्फ कार्कीले ध्यानाकर्षण गराए ।
उनले अब सामूहिक नीति र नेतृत्व आवश्यक रहेको बताए । बैठकमा कार्कीले क्युबाको उदाहरण दिँदै भने, ‘क्युबामा संविधान फेर्न एक लाख पटक मिटिङ गरेको पाइन्छ । विभिन्न चरणमा मिटिङ गरेको पाइन्छ । त्यसरी जनताको अभिमत लिएर अगाडि बढेको थियो । विचार निर्माणको विधि तय गरौँ । त्यसमा छलफल, आलोचना र सुझावबाट यसलाई परिष्कृत गरेर हामी अगाडि बढौँ ।’

ranechhap