काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन् । समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरूलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ ।
उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्याउन चलचित्र विकास बोर्डलाई आग्रह पनि गरे । उनले चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरू चिर्न सरकार लागिपरेको समेत बताए । चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताए ।
उनले भने,‘देश र समाजको हित अनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधिमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रूपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौँ । नेपाली समाजको रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका भुल्न मिल्दैन ।’
उनले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिए ।









































