काठमाडौँ । दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन् ।
आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै प्रधानमन्त्री शाहको आलोचनासहित प्रदर्शन गरेका हुन् ।
सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि आफूहरू सडकमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिए । प्रधानमन्त्री शाह आफैँ गृह र रक्षामन्त्रीसमेत रहेको अवस्थामा पीडित परिवारले न्यायको गुहार माग्न जाँदा भेट्नसमेत नपाउनु गम्भीर विषय भएको उनको भनाइ छ ।
संयोजक श्रीपालिले सरकारले गठन गरेको छानबिन समितिप्रति आशङ्का व्यक्त गरे । प्रहरी र प्रमुख जिल्ला अधिकारी गृह प्रशासनकै अङ्ग भएकाले गृह प्रशासनकै मातहतबाट बनेको समितिले निष्पक्ष प्रतिवेदन ल्याउनेमा आफूहरूलाई विश्वास नरहेको उनले बताए ।
घटना खुर्कोट प्रहरी चौकीमै भएकाले छानबिन पनि त्यहीँबाटै सुरु हुनुपर्ने र परिवारका सदस्यले न्यायका लागि मुद्दा दर्ता गर्न पाउनुपर्ने उनको माग छ ।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने सबै प्रकारका हत्या र हिंसाको अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । न्याय प्राप्तिको लडाइँमा सरकार जिम्मेवार नबने आन्दोलन थप कडा बनाउने उनीहरूले चेतावनी दिएका छन् ।








































