वि.सं.२०८२ कात्तिक २२ शनिवार

जेजनीले अघि सारेका मागमा एमाले सकारात्मक छ : शंकर पोखरेल

khanepani

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नवयुवालाई जेनजीको नाममा जसरी सङ्गठित गर्ने प्रयास गरियो त्यो हाम्रो परम्परा नभएको बताएका छन् ।

साथै उनले पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन डीप स्टेटको अवधारणा अन्तर्गत विश्वव्यापी रूपमा कलर रेभुलुसन गर्ने योजना अन्तर्गत नियोजित मनोविज्ञान तयार गरेर फरक पुस्ताका रूपमा आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रयास भएको बताएका छन् ।

सोमबार एमाले निकट प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा महासचिव पोखरेलले पश्चिमाको यो रणनीतिका कारण नै नेपाल असामान्य अवस्थामा प्रवेश गरेको बताए । तर उनले जेनजीले अघि सारेका माग अनुचित नभएको स्वीकार गरे ।

‘मुलुकमा भ्रष्टाचार नियन्त्रण हुनुपर्छ, सुशासन हुनुपर्छ र सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउनुपर्छ भन्ने माग जायज हो’, उनले भने– ‘सरकारले त्यो पुरा गर्न सक्ने माग हो । तर उनीहरुले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएनन् ।’

उनले जेनजी आन्दोलनको नेतृत्व कसले गरेको छ भन्ने कुरा समेत पूर्ववर्ती सरकारलाई जानकारी नभएको दाबी गरे । ‘यति सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भनेर भाष्य खडा गर्न खोजिँदैछ । तर चासो राख्न कसैले नेतृत्व र माग प्रस्तुत गरेको हुनुपर्छ त्यो नभई राज्यले संवाद गर्ने कुरा भएन ।’

उनले माग पुरा गर्ने भन्दा पनि परिस्थितिलाई आफ्नो स्वार्थअनुसार भड्काउने उद्देश्यका लागि अभियान चलाइएको थियो भन्ने कुरा पछिल्ला घटनाक्रमले पुष्टि गरेको दाबी गरे ।

उनले युवाहरूमा रहेको सूचना प्रविधिप्रतिको आशक्ति र लत तत्कालीन केपी ओली नेतृत्वको सरकारले बुझ्न नसक्दा गलत तत्त्वहरूले प्रयोग गर्ने मौका पाएको समेत बताए ।