वि.सं.२०८३ वैशाख १८ शुक्रवार

एकै वर्षमा बुटवलको मणिमुकुन्द सेन उद्यानमा पुगे साढे पाँच लाख पर्यटक, पौने लाख भारतीय मात्रै

khanepani

रुपन्देही । बुटवलको ऐतिहासिक पर्यटकीय स्थल मणि मुकुन्द सेन उद्यान (फूलबारी) मा एकै वर्षमा साढे ५ लाख पर्यटक भित्रिएका छन् जसमध्ये पौने लाख भारतीय रहेका छन् ।

इतिहास, संस्कृति र प्रकृतिसँगै समेटिएको बुटवल–२, फूलबारीस्थित मणि मुकुन्द सेन उद्यानमा आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख ४७ हजार १ सय ९९ जना पर्यटकले भ्रमण गरेकामध्ये ७४ हजार ५ सय ९२ जना भारतीय नागरिक रहेका छन् । जसमा ७१ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।

उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले अध्ययन केन्द्रका रूपमा उद्यानलाई विकास गर्ने योजना रहेको र पछिल्लो समय भारतीय पर्यटकहरू रुचिका साथ आइरहेको बताए ।

विगतका वर्षहरूमा भन्दा भारतीय पर्यटकहरू तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको हुँदा पनि यसको आन्तरिक व्यवस्थापनमा आफूहरूले जोड दिएको उनको भनाइ छ । ‘केही विद्यार्थीहरूले आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा उद्यान सम्बन्धी शोधपत्रहरू समेत तयार गर्न डाटा सङ्कलनका लागि आउने गरेका छन् अब यसलाई वातावरणमैत्री अध्ययन केन्द्रका रूपमा अघि बढाउने हो’–उनले भने ।

उद्यानमा रहेको सेन वंशीय भग्नावशेष दरबारलाई संरक्षणसँगै दरबार सङ्ग्रहालय निर्माणको लागि यो वर्ष ३ करोड बजेट संघीय सरकारबाट विनियोजन भएको उनले बताए । यसै गरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरेको उनले बताए ।

उद्यानमा नर्सरी उत्पादनलाई व्यावसायिक बनाउँदै, दरबार क्षेत्रको संरक्षण, बगैँचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेस्टुरेन्ट, सिसाको पुल, जिप लाइनजस्ता संरचनाहरू निर्माणको समेत अध्ययन र तयारी भइरहेको उनले बताए ।

मुनामदन बगैँचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, एक्युरियम, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा मिडिया सहकार्य तथा रिसर्च फेलोसिप कार्यक्रम सञ्चालन जस्ता योजना अघि सारेको उनले बताए ।

कार्यक्रममा महासचिव युवराज घिमिरेले समितिबाट स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारसँग सहकार्यमा संरचनागत विकास गरिरहेको बताए । पर्याप्त बजेट अभाव, सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानीको आपूर्तिमा चुनौतीका विषय भएको उनले बताए ।

गत वर्ष उद्यानको आम्दानी ४ करोड ६ लाख रुपैयाँ तथा खर्च ३ करोड ९६ लाख रुपैयाँ भएको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए । यसै गरी मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा ४७ लाख रुपैयाँ भन्दा बढी भुक्तानी गरिएको उनले बताए । उद्यानमा अहिले १६ जना स्थायी तथा करार र २० जना दैनिक ज्यालादारी गरी ३६ जना प्रत्यक्ष रोजगारीमा छन् भने सटर, बाल उद्यान र अन्य सेवा सञ्चालनमार्फत झण्डै १५० जना परोक्ष रोजगारी सृजना भएको श्रेष्ठले बताए ।

मणि मुकुन्द सेन उद्यानलाई थप व्यवस्थित, शिक्षामैत्री र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन संयुक्त कार्य योजना र सांस्कृतिक प्रदर्शन कार्यक्रमहरू आवश्यक रहेको सुझाव आएको र त्यसैलाई आधार मानेर कार्य योजना बनाउने समितिले जनाएको छ ।

ranechhap