काठमाडौँ । धर्मगुरुको आवरणमा ठगी धन्दा र यौन शोषण गरेको आरोपमा पक्राउ परेर पुर्पक्षको लागि थुनामा राखिएका पुरुषोत्तम काफ्लेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका काफ्लेले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आइतबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुँदैछ । उनलाई काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध काफ्ले निवेदन दिएका हुन् ।
आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउने दोलखा घर भएका काफ्लेलाई सीआईको टोलीले २०८० असारमा भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । आश्रममा आउने महिलाहरूलाई प्रभावमा पारेर उनले ३ करोड ६३ लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
नारी उत्थानका लागि कम्पनी खोल्न भनेर रकम उठाएर उनले आफूले घरजग्गा जोडेर ठगी गरेका हुन् । उनीमाथि महिला भक्तहरूलाई यौन शोषण समेत गरेको आरोप लागेको थियो ।









































