वि.सं.२०८३ वैशाख १७ बिहीवार

पेन्सन पाउने बाहेकका सबै सरकारी कर्मचारी अब सामाजिक सुरक्षा कोषमा

khanepani

काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी कर्मचारी अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने भएको छ । सरकारको गत चैत १५ को निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रका सूचना प्रकाशित गर्दै पेन्सन सुविधा लिने बाहेकका सबै सकारी सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

सरकारी पेन्सन सुविधा खाने बाहेकका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सूचना प्रकाशित गर्दै बाध्यकारी व्यवस्था गरेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । उनका अनुसार ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’को दफा २१ ले सरकारी कोषबाट पारिश्रमिक खाने कर्मचारीको सामाजिक सुरक्षा कोषमा आबद्धताका सम्बन्धमा नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था अनुसार सरकारले सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

प्रकाशित सूचना अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २ को खण्ड (ज) र दफा ७ ले दिएको अधिकार प्रयोग गरेर योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम २ को खण्ड (घ) बमोजिम यो निर्णय गरेको हो । सरकारको निर्णय अनुसार अब प्रचलित कानून बमोजिम निवृत्तिभरण पाउने बाहेकका श्रमिक वा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सूचीकृत गरी उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश हुनु पर्ने छ ।

जसमा सरकारी कोष-प्रदेश सरकार वा स्थानीय तहको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोष) बाट पारिश्रमिक पाउने कर्मचारी रहेका छन् । उनीहरूले खाइपाइ आएको तलबको कम्तीमा साठी प्रतिशतलाई आधारभूत तलब मानेर त्यसको २० प्रतिशत रोजगारदाता अर्थात् कार्यरत निकायबाट र ११ प्रतिशत सम्बन्धित कर्मचारी, श्रमिक वा योगदानकर्ताको तर्फबाट जम्मा गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव समेत रहेका सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

२०७६ साउन १ देखि औपचारिक क्षेत्रका श्रमिक, २०७९ चैत ८ देखि वैदेशिक रोजगारीमा गएका श्रमिक र २०८० साउन ३१ देखि अनौपचारिक र स्वरोजगारको क्षेत्रमा श्रमिकलाई आबद्ध हुन सुरु गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

वैशाख १ देखि योगदानकर्ताका छोराछोरीको पनि उपचार सुविधा पाउन सुरु

यसैविच यही वैशाख १ देखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिक तथा कर्मचारीको छोराछोरीले पनि उपचार सुविधा पाउन सुरु गरेका छन् । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिलाई पाँचौँ पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

कोषले यसअघि योगदानकर्ता र योगदानकर्ताको श्रीमान् तथा श्रीमतीसमेतलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत सुविधा पाउन थालेका हुन् । संशोधित व्यवस्था अनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउन थालेका हुन् ।

कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने व्यवस्था रहेको छ ।

२० हजार भन्दा बढी रोजगारदाता र साढे ५ लाख भन्दा बढी श्रमिक कोषमा आबद्ध

कोषको तथ्यांक अनुसार सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ भएको ७ वर्षको अवधिमा २० हजार ३६२ रोजगारदाता कोषमा आबद्ध भएका छन् भने ती रोजगारदातामार्फत अहिलेसम्म ५ लाख ७४ हजार ९५९ योगदानकर्ता आबद्ध छन् ।

जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १३ हजार ८५६ रोजगारदातामार्फत ४ लाख ३७ हजार २३९ योगदानकर्ता आबद्ध भएका छन् । दोस्रोमा कोशी प्रदेशमा २ हजार १ हजार ८८५ रोजगारदातामार्फत ६० हजार ७०८ योगदानकर्ता आबद्ध छन् । यस्तै क्रमशः लुम्बिनी प्रदेशमा १ हजार ६७८ रोजगारदातामार्फत २० हजार ४२७ योगदानकर्ता, मधेश प्रदेशमा १ हजार ७१ रोजगारदातामार्फत २८ हजार ३२७ योगदानकर्ता, गण्डकी प्रदेशमा १ हजार ३ रोजगारदातामार्फत २३ हजार २८२ योदानकर्ता आबद्ध छन् ।

त्यसपछि सबैभन्दा कम कर्णाली प्रदेशमा २७० रोजगारदातामार्फत २ हजार ६५ योदानकर्ता र सुदूरपश्चिम प्रदेशमा २९९ रोजगारदातामार्फत २ हजार ९११ योगदानकर्ता आबद्ध छन् ।

करिब ७० प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीबाट

विशेष गरी निजी क्षेत्रमा कार्यरत आन्तरिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारको लक्ष्य भए पनि कोषमा आबद्ध श्रमिकको संख्या हेर्दा करिब ७० प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् ।

वैदेशिक रोजगारीमा जानु अघि अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था भएपछि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या बढी भएको हो । यद्यपि वैदेशिक रोजगारीमा आबद्ध भएका श्रमिकलाई कोषमा आबद्ध गराउन थालेको करिब २ वर्ष मात्रै पुगेको छ । जबकि औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन थालेको ६ वर्ष पुगिसकेको छ ।

कोषको तथ्यांक अनुसार अहिले जम्मा योगदानकर्ता २१ लाख ५१ हजार १८ जना रहेकोमा वैदेशिक रोजगारीमा गएका श्रमिकको संख्या करिब ७० प्रतिशत अर्थात् १५ लाख ७५ हजार २७९ रहेको छ । यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत ४५४ र स्वरोजगारको क्षेत्रमा कार्यरत ३२६ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

कोषमा अहिलेसम्म ७७ अर्ब ६७ करोड रकम जम्मा

कोषमा अहिलेसम्म विभिन्न योजनामार्फत योगदानकर्ताबाट ७७ अर्ब ६७ करोड जम्मा भइसकेको छ । जसमा औपचारिक क्षेत्रबाट सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ६१ अर्ब २ करोड ९९ लाख ७३ हजार ५९१ जम्मा भइसकेको छ भने दोस्रोमा दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ३ अर्ब १ करोड १२ लाख ६९ हजार ११२ रकम जम्मा भएको छ । यस्तै तेस्रोमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब १५ करोड ९ लाख ६ हजार ८०५ जम्मा भएको छ भने आश्रित परिवार सुरक्षा योजनामा ५८ करोड ७ लाख ४० हजार ५०५ रकम जम्मा भएको छ ।

यस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकबाट साढे ३ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । कोषमा अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकबाट विभिन्न योजनाबाट ३ अर्ब ६२ करोड २४ लाख १५ हजार ७३० रुपैयाँ जम्मा भएको छ ।

जसमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनामार्फत १ अर्ब २६ करोड ७ लाख ७१ हजार २२१ रकम जम्मा भएको छ भने वैदेशिक रोजगारीमा गएका श्रमिकबाटै वृद्ध अवस्था सुरक्षा योजनामा २ अर्ब ३६ करोड १६ लाख ४४ हजार ५०९ रकम जम्मा भएको छ ।

यस्तै अनौपचारिक क्षेत्रका श्रमिकबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ३३ लाख ९९ हजार ११६ र वृद्ध अवस्था सुरक्षा योजनामा ३३ लाख ८९ हजार ३५३ जम्मा भइसकेको छ । यस्तै स्वरोजगारको क्षेत्रबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ लाख ७३ हजार १५३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा २ लाख ४७ हजार ५९५, आश्रित परिवार सुरक्षा योजनामा ४७ हजार ७४६ र वृद्ध अवस्था सुरक्षा योजनामा ५३ लाख ९६ हजार ५४९ जम्मा भइसकेको छ ।

सबै क्षेत्रका श्रमिकबाट सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ६३ अर्ब ४० करोड ४ लाख ४ हजार ३ जम्मा भएको छ भने दोस्रोमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ४ अर्ब ८५ करोड ३० लाख ७६ हजार १८१ जम्मा भएको छ । यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब १५ करोड ४४ लाख ७९ हजार ७५ र अतिरिक्त योगदान १ अर्ब ३३ करोड ४७ लाख ९३ हजार ५५६ रहेको छ । कोषका अनुसार प्रतिफल भने ५ अर्ब ९२ करोड ८ लाख ५१ हजार ११३ जम्मा भएको छ पुगेको छ ।

२ लाख भन्दा बढी श्रमिकबाट १३ अर्ब ९२ करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषका अनुसार अहिलेसम्म २ लाख ९ हजार ७४३ श्रमिकले ३ लाख ६ लाख ४१ हजार ९०४ पटक गरेर १३ अर्ब ९२ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको अवस्था छ । जसमा सबैभन्दा बढी १ लाख ४ हजार ६५५ योगदानकर्तालाई वृद्ध अवस्था सुरक्षा योजनामाफर्त १ लाख ११ हजार ९४६ पटक गरेर ११ अर्ब ६५ करोड ४० लाख ९९ हजार २८१ रकम भुक्तानी भइसकेको छ ।

यस्तै दोस्रोमा ९९ हजार १८५ जना योगदानकर्ताले ४ लाख ९६ हजार ३७४ पटक औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामार्फत १ अर्ब ८६ करोड ७२ लाख ४१ हजार ३६२ रकम दाबी भुक्तानी लिइसकेका छन् ।

यस्तै ५ हजार २२२ योगदानकर्ताले ९ हजार २७६ पटक दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत १८ करोड २२ लाख ८३ हजार ७९२ रुपैयाँ दाबी भुक्तानी लिइसकेका छन् भने ६८१ योगदानकर्ताले २४ हजार ३०८ पटक गरेर आश्रित परिवार सुरक्षा योजनामार्फत २१ करोड ९६ लाख ७९ हजार २२९ रुपैयाँ दाबी भुक्तानी लिइसकेका छन् ।

ranechhap