वि.सं.२०८३ वैशाख १७ बिहीवार

१२ कक्षाको परीक्षा केन्द्रमा लापरबाही भएको भन्दै नेविसंघले सुधार गर्न मागसहित बुझायो ज्ञापनपत्र

khanepani

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले कक्षा १२ को परीक्षाका क्रममा देशका विभिन्न केन्द्रहरूमा लापरबाही भएको भन्दै सुधार गर्ने मागसहित राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुर महाशाखा प्रमुख तथा प्रवक्ता जयन्ती सत्याललाई ध्यानाकर्षण गराएको हो ।

सङ्घका कार्यवाहक अध्यक्ष नवीन पौडेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै परीक्षा व्यवस्थापनमा भएको गैरजिम्मेवारपूर्ण गतिविधिप्रति सङ्गठनको ध्यानाकर्षण भएको जनाएको हो । ज्ञापनपत्रमा नेविसंघले यस्ता घटनाले विद्यार्थीको मौलिक शैक्षिक अधिकारमाथि प्रत्यक्ष असर परेको जनाएको छ ।

ज्ञापनपत्रमा चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षाका क्रममा सुनगाभा कलेजका विद्यार्थीहरूमाथि अन्यायपूर्ण व्यवहार भएको उल्लेख गरिएको छ ।

विवरण अनुसार प्रश्नपत्र छपाइमा ढिलाइका कारण परीक्षा बिहान ८ः३१ बजे सुरु गरिएको र निर्धारित ३ घण्टा समय नदिई बिहान ११ः१३ बजे नै उत्तरपुस्तिका सङ्कलन गरिएको प्रति नेविसंघले आपत्ति जनाएको हो । १७ मिनेट अगावै परीक्षा सकिँदा विद्यार्थीहरू आफ्नो पूर्ण क्षमता अनुसार लेख्नबाट वञ्चित भएको नेविसंघले जनाएको छ।

सङ्घले दोषीमाथि कडा कारबाही गर्न, पीडित विद्यार्थीलाई न्याय दिन तथा परीक्षा व्यवस्थापनमा देखिएका कमजोरी सुधार गर्न माग गरेको छ। साथै, प्रश्नपत्र वितरणमा हुने ढिलाइ अन्त्य, प्रभावकारी अनुगमन प्रणालीको विकास, र परीक्षा केन्द्रहरूमा जिम्मेवारी तथा पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

ranechhap