वि.सं.२०८१ माघ ११ शुक्रवार

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार : मन्त्री साह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको बताएका छन् । आइतबार सिंहदरबारमा मन्त्रालयले सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री साहले बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेस गरिएको पनि बताए ।

उनले हिंसा पीडित महिलाहरूका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनर्स्थापना गृह निर्माण कार्य पनि छिट्टै सुरु गर्ने बताए । करिब ३० करोड लागतमा सो गृहको निर्माण कार्य सुरु हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्री साहले भने, ‘बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेस गरिएको छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारीका लागि मन्त्रालय स्तरीय समिति गठन भई मस्यौदा तयार भएको छ ।’

मन्त्री साहले सडक बालबालिकाहरूको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।