काठमाडौं । नेपालमा उडान अनुमति अवधि सकिएको थाई एयर एसियाको जहाजलाई आज केहीबेर होल्ड गराएर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्न दिइएको छ । थाइल्याण्डको बैंककबाट आएको उक्त जहाज आज २ बजे अवतरण गर्नुपर्ने तालिका भए पनि त्रिभुवन विमानस्थलमा अनुमति नपाएपछि होल्ड गराइएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी उपप्रबन्धक ज्ञानेन्द्र भुलले विमानमा सवार यात्रुको सुरक्षा जोखिमलाई ध्यान दिएर अवतरणको अनुमति दिइएको बताए ।
उनले भने, ‘थाई एयरको उडान अनुमतिको समय सीमा सकिएको थियो । नवीकरण गर्नुपर्नेमा गरेको थिएन । तर, अनुमति नहुँदा नहुँदै अवतरणका लागि आयो । त्यसलाई केही समय हामीले होल्ड गर्यौं । धेरै समय होल्ड गरेपछि विमानमा सवार यात्रुको सुरक्षालाई मध्यनजर गरेर अवतरण गराइयो । अब उक्त विमान चार्टरमार्फत आजै फर्किन्छ । सबै प्रक्रिया पूरा गरेर अनुमति नलिएसम्मका लागि उडानको अनुमति दिइँदैन र अवतरण गराइँदैन ।’