वि.सं.२०८३ वैशाख २३ बुधवार

सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन अध्यक्ष केपी शर्मा ओलीले बढाए सक्रियता

khanepani

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन् । संसदीय दलको नेतृत्वलाई लिएर उत्पन्न आन्तरिक किचलो मिलाउन अध्यक्ष ओलीले सुदूरपश्चिमका एमाले प्रदेश सभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन् ।

अध्यक्ष ओली र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूबिच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुँदैछ । छलफलका लागि संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सबै ११ जना सांसद काठमाडौँ आइपुगेका छन् । बैठक बिहान ११ बजेका लागि तय गरिएको भए पनि समय केही हेरफेर हुन सक्ने एक सांसदले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति पार्टीका सांसदहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएदेखि नै सांसदहरूको एउटा समूहले रावललाई हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरूले सहमतिमा नेतृत्व परिवर्तन नभए लोकतान्त्रिक प्रक्रियाबाट भए पनि नयाँ नेता छान्न पाउनुपर्ने अडान अध्यक्ष ओलीसमक्ष राख्ने तयारी गरेका छन् ।

बैठकमा संसदीय दलको नेताको विषयमात्र नभई प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे पनि गम्भीर छलफल हुने बुझिएको छ । हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार छ । पछिल्लो समय एमालेभित्र कांग्रेससँगको सहकार्यप्रति असन्तुष्टि बढ्दो छ ।

एमाले स्रोतका अनुसार कांग्रेससँगको साझेदारी तोडेर नेपाली कम्युनिस्ट पार्टी (साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल)सँग सत्ता समीकरण बनाउने विषयमा केन्द्रमा पनि संवाद भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११ र नेकपाका २२ सांसद छन् । नेकपामा २२ मध्ये एक सांसद निलम्बित छन् । एमाले र नेकपाबिच सहमति जुटेमा नयाँ सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता हिरा सार्कीले संसदीय दलको नेताका विषयमा छलफल हुन लागेको पुष्टि गरे पनि सरकार परिवर्तनबारे भने अहिले नै ठोस निर्णय भइनसकेको बताए । ‘हामी अहिले सरकारमै छौँ र काम गरिरहेका छौँ । केन्द्रले जे निर्णय गर्छ, हामी त्यसैलाई पालना गर्छौं,’ उनले भने । सरकारको सहकार्य टुट्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए ।

ranechhap