काठमाडौँ । मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए । यान्त्रिक पद्धति आइएफआर बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ ।
अघिल्लो एक साता मौसम खराबीले उडान प्रभावित भएको थियो, त्यसपछि केही दिन मौसम सफा भए पनि गत २३ गतेदेखि फेरि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो तुवाँलो लागेकाले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । १२ उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाइयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।
यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।
अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भए । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्ध एयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।
तीनदिन मौसम खराबी रहे पनि तुलनात्मक रूपमा बिहीबार काठमाडौँको आकाश सफा छ । तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार बिहीबार पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।
हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ ।
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा अपराह्नतिर मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बिहीबार काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।








































