08, Oct, 2024

संसद भवन चाँडै बनाइसक्न सभामुख देवराज घिमिरेले गराए ध्यानाकर्षण

बागमती भ्वाइस
बागमती भ्वाइस
४ श्रावण २०८१, शुक्रबार १४:५० | २ महिना अगाडी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो राखेका छन् ।

शुक्रबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्षसहित उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजना लगाएत सरोकारवाला निकायसँग छलफल गर्दै सभामुख घिमिरेले संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका हुन् ।

नयाँ संसद भवनलाई उच्च प्रविधिमैत्री बनाएर समयमा नै निर्माण सम्पन्न गर्न सभामुखले ध्यानाकर्षण गराए । उनले भवन निर्माण गर्दा प्रविधिका क्षेत्रमा सम्झौता नगर्न पनि निर्देशन दिएका छन् । सभामुख घिमिरेले नयाँ संसद भवन निर्माणको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै गुणस्तरीय काममा जोड दिए । एक महिनामा पुन: जानकारी लिने पनि सभामुखले बताए ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणसम्पन्न गर्ने क्रममा कुनै कमीकमजोरी गर्न नहुने बताए । आधुनिक प्रविधिको प्रयोगका साथै विश्वलाई नमूनाका रुपमा देखाउन सक्ने गरि संसद भवनको निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७६ सालदेखि निर्माण भएको भवन निर्माण ढिलाइ हुनुको कारण पहिचान गरेर समस्या समाधान गर्नुपर्ने बताए । समयमा नै सम्पन्न गर्न सबैसँग जानकारी लिएर समस्या पहिचान गर्ने सिंहको भनाइ थियो ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले निर्धारित समयमा नै सम्पन्न गर्न प्रयास गरिरहेको भन्दै निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न नसकेको गुनासो गरे । संघीय संसद भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको र आगामी चैत्र १८ गतेको समयसिमाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको उनले सुनाए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरू गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक-पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

४ श्रावण २०८१, शुक्रबार १४:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading