काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका- ५ स्थित थलीमा मृत भेटिएका ५२ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले बताएको छ ।
छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ ।
आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो ।
नगरकोटीका छोरालाई हिजो साँझ ५ बजे दक्षिणकालीको चाल्नाखेलबाट आत्महत्या प्रयास गर्दा गर्दै उद्धार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यता थलीमा बुबा कृष्ण आज बिहान मृत फेला परेका थिए । कृष्ण आफैँ ट्याक्सी चलाउँथे । तीनैजना गत पुस ११ गतेदेखि घर नगई ट्याक्सीमा नै खाने-बस्ने गर्दै आइरहेको बताइएको छ ।
कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो बिवाह गरेको पाइएको छ ।
‘हिजो दिउँसो ११ बजे ट्याक्सी बिग्रियो सामान लिन जाने भनेर छोरीलाई सेतोपुल छोडेर बुबा र छोरा हिँडेका थिए । त्यसपछि बुबा एकातिर दाइ एकातिर लागेको अनुसन्धानबाट खुलेको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रारम्भिक निष्कर्ष छ’, एक प्रहरी अधिकारीले भने ।








































