वि.सं.२०८३ साउन १२ मंगलवार

घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

khanepani

काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० अस्थायी नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए ।

उनलाई सोही ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा फालिदिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले ट्याक्टरका सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको छ भने चालक अमित परियार फरार छन् ।

डीएसपी अधिकारीका अनुसार चैत ५ गते घटना भएपछि चालक अमित र सहचालक सुनिल दुवै ट्याक्टर छाडेर भागेका थिए । सुनिलले पाल्पास्थित दिदीको घरमा पुगेर घटनाबारे बताएका थिए । त्यसपछि पाल्पाको प्रहरी हुँदै आफूहरुले जानकारी पाएको डीएसपी अधिकारीले बताए ।

सुनिललाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्वीकार गरेका अधिकारीले बताए । ‘नदीमा फालेको भनिएका व्यक्तिको घरबाट पनि खोजी भएको छैन, हामीले बुझ्दा साथीकहाँ गएको होला भनेर खोजी नगरेको देखियो, उनले बताए ‘उनको शव भेटिएको पनि छैन, हामीले गोताखोर मगाएका छौं ।

पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएको छ । घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको डीएसपी अधिकारीले बताए ।

ranechhap