काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रकाश ज्वालाले नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको जिकिर गरेका छन् ।
गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच प्रदेशमा सत्ता भागबन्डा गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई लिएर एमाले र नेकपाभित्रै असन्तुष्टि बढेको छ ।
सहमतिलाई लिएर सहसंयोजक माधव कुमार नेपालले असन्तुष्टि जनाएका थिए । सोमबार नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका थिए । दुई नेताबिच भएको छलफलमा तीन बुँदे सहमति कार्यान्वयन, प्रदेश सत्ता समीकरण, राष्ट्रिय राजनीतिबारे गम्भीर समीक्षा भएको ज्वालाले जिकिर गरे ।
‘तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन । सहमति कार्यान्वयन, प्रदेशमा सत्ता समीकरण बनाउन दुई दलबिच संयन्त्र बनाएर अगाडि बढ्ने उहाँहरूबिच गम्भीर समीक्षा भएको छ’, उनले भने, ‘सबै राजनीतिक दलहरूसँग आपसी छलफल गरेर राष्ट्रिय मुद्दामा सहकार्य गर्ने विषयमा पनि कुराकानी भयो । एकता र समायोजन प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कुरा भएको छ ।’






































