वि.सं.२०८३ साउन १२ मंगलवार

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेका लागि तय गरेको राष्ट्रिय भेला सम्पन्न गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

सोमबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले भेलालाई व्यवस्थित र सफल बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले मंगलबार जानकारी दिए ।

संयोजक विश्वकर्माका अनुसार १० नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको छ । नेपाल विद्यार्थी संघ परिचालनका लागि कुन्दन काफ्ले, तरुण दल परिचालनका लागि जीतजंग बस्नेत, महिला संघ परिचालनका लागि उषा राउत, दलित संघ परिचालनका लागि यमुना विश्वकर्मा खड्कालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपाल किसान संघ परिचालनका लागि गणेश तिमिल्सिना, लोकतान्त्रिक आदिवासी जनजाति परिचालनका लागि जगत बराम, विदेश जनसम्पर्क समिति परिचालनका लागि किरण पौडेललाई जिम्मेवारी तोकिएको विश्वकर्माले जानकारी दिए ।

काठमाडौँ जिल्ला सम्पर्क समिति र खेलकुद समन्वयनका लागि मोहनबहादुर बस्नेत, बुद्धिजीवी परिचालनका लागि मीन विश्वकर्मा र ट्रेड युनियन परिचालनका लागि हरिशरण नेपालीलाई जिम्मेवारी दिइएको छ ।

बैठकले अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि आवश्यकता अनुसार समितिहरू बनाएर परिचालन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिए ।

प्रचारप्रसार संयोजक विश्वकर्माका अनुसार भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी पनि अन्तिम चरणमा पुगेको छ। ‘केन्द्रीय प्रतिनिधि खटाउनका लागि हामीले नामावली तयार पारिरहेका छौँ, बुधबारसम्ममा यसलाई अन्तिम रूप दिइनेछ,’ विश्वकर्माले भने ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न इतर समूहले राष्ट्रिय भेलाको आह्वान गरेको हो। चुनदेवी बैठकले भेलालाई शक्ति प्रदर्शन भन्दा पनि नीतिगत बहसको थलो बनाउने गरी तयारी अगाडि बढाउने निष्कर्ष निकालेको छ।

ranechhap