वि.सं.२०८३ साउन १२ मंगलवार

स्वास्थ्यकर्मीहरू कार्यस्थलमै भौतिक आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका जायज माग सम्बोधन गर्न माग गरेका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटना निन्दनीय रहेको उनको भनाइ छ।

नागरिकको जीवन रक्षामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने उनको भनाइ छ।

उनको भनाइ जस्ताको तस्तै-

यही साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय छ।

नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।

यस घटना पश्चात् पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक सङ्घ लगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने विषम परिस्थिति सिर्जना भएको छ।

आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय हो।यस्तो परिस्थिति अहिले मात्र भएको होइन। त्यसैले यसतर्फ तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्नु हुँदैन।

१. विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दबाब र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अतः यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारबाही गरियोस्। वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।

२. नेपाल चिकित्सक सङ्घ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।

३. स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौँ नागरिक र बिरामीको अवस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादबाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक सङ्घ लगायत सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु।

ranechhap