एजेन्सी । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर उर्लिएको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
६ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार बिहानैदेखि लाखौँ मानिसहरू अन्तिम दर्शनका लागि तेहरानको ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा भेला भएका छन्।
फेब्रुअरी २८ को आक्रमणमा खामेनीका साथै मारिएका उनका परिवारका अन्य सदस्यहरूको ताबुत पनि इरानी झन्डामा लपेटेर मञ्चमा राखिएको थियो। आफ्ना नेता र उनको परिवारको ताबुत देख्नासाथ उपस्थित लाखौँ श्रद्धालुहरू भक्कानिएर रोएका थिए ।
यस क्रममा आक्रोशित भीडले लगातार ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै बदलाको माग गरिएका पोस्टरहरू प्रदर्शन गरेका थिए।
अधिकारीहरूका अनुसार यो हालसम्मकै सबैभन्दा ठूलो जनसमूह हुन सक्ने र पूरै हप्ताको कार्यक्रममा करिब १.५ देखि २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ।
खामेनीको अन्तिम यात्रा ६ जुलाईमा तेहरानबाट सुरु हुनेछ। त्यसपछि उनको पार्थिव शरीरलाई ७ जुलाईमा कोम (इरान), ८ जुलाईमा इराकको नजफ र कर्बला लैजाँदै अन्तमा ९ जुलाईमा इरानको दोस्रो ठूलो सहर मशहदस्थित ‘इमाम रजा दरगाह’ परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिनेछ।
शिया सम्प्रदायका कुल १२ पवित्र इमामहरूमध्ये आठौँ इमाम ‘इमाम रजा’ मात्रै यस्ता इमाम हुन् जसलाई इरानको धर्तीमा गाडिएको छ। बाँकी सबै इमामहरू साउदी अरब वा इराकमा छन्।
तत्कालीन शासकले विष दिएर हत्या गरेपछि इमाम रजालाई दफनाइएको यस ठाउँको नाम पछि ‘मशहद’ (सहिद भएको ठाउँ) रहन गएको हो, जुन शिया मुस्लिमहरूका लागि मक्का, मदिना र कर्बलापछिको सबैभन्दा पवित्र स्थल मानिन्छ।
अमेरिका-इरान वार्ता स्थगित, आणविक केन्द्रमा निरीक्षण रोकियो
यस संवेदनशील समयमा इरानले अमेरिकासँग चलिरहेको अप्रत्यक्ष शान्ति वार्तालाई तत्कालका लागि रोकेको छ। यसका साथै इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई आफ्ना प्रमुख आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फहानको अनुगमन गर्न अनुमति दिन स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘मानवीय आधार’ मा इरानलाई अन्त्येष्टि पूरा गर्न एक हप्ताको समय दिएको दाबी गरेका छन्। यो अवधि सकिएलगत्तै इरानले अमेरिकी सर्तहरू मान्नुपर्ने ट्रम्पको भनाइ छ।
खामेनीको मृत्युपछि इरानको नयाँ सैन्य रणनीति
खामेनीको हत्यापछि इरानले आफ्नो सुरक्षा र सैन्य नीतिमा व्यापक फेरबदल गरेको छ। नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको नेतृत्वमा तेहरानले अब पहिलेको तुलनामा निकै आक्रामक रूप अपनाउने सङ्केत दिएको छ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार अमेरिका र इजरायलले इरानमा सत्ता परिवर्तन गराउन नसके पनि इरानको रणनीतिलाई भने पूर्ण रूपमा बदलिदिएका छन्। इरानले अब होर्मुज स्ट्रेटलाई आफ्नो सबैभन्दा ठूलो दबाबको हतियार बनाउने रणनीति लिएको छ।
इरानको स्पष्ट सन्देश छ- ‘यदि इरानमा शान्ति रहँदैन भने विश्वका लागि हुने तेलको आपूर्ति पनि सामान्य रहन दिइने छैन।’







































