वि.सं.२०८३ असार १ सोमवार

स्वास्थ्यमन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलको भेट

khanepani

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका फेडरल मिनिस्ट्री अफ इकोनोमिक कर्पोरेशन एण्ड डेभलपमेण्ट (बीएमजेड) अन्तर्गत साउथ एसिया डिभिजन तथा डेभलपमेण्ट प्रमुख बारबरा सेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भ्लजले शिष्टाचार भेट गरेका छन् ।

भेटघाटमा जर्मनी सरकारका विकास साझेदार संस्था केएफडब्ल्यू, जेडआईजेड तथा पीटीबी नेपालका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो । भेटमा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

साथै, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मन सरकारले प्रदान गर्दै आएको सहयोगको समीक्षा गरिएको थियो ।

मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गरिन् । उनले सरकारका प्राथमिकताका क्षेत्रमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

ranechhap