काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा- १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन पदाधिकारीहरूले रूख कटान गरी काठ बिक्रीबाट प्राप्त रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
अनुसन्धानका क्रममा तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाले आपसी मिलेमतोमा सामुदायिक वनको सम्पत्तिमा अनियमितता गरी रकम हिनामिना गरेको देखिएको उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ मा लगत संकलनको सहमति लिएर कटान गरिएको काठ आर्थिक वर्ष २०७८/०७९ मा चिरान गरी बिक्री गर्दा ९८१.२४ क्यू फिट काठ न्यूनतम दररेट अनुसार बिक्री भएको भए पनि हुने आम्दानीभन्दा ९५ हजार ,११८ कम देखाई लेखापरीक्षण प्रतिवेदन तयार गरी रकम हिनामिना गरिएको पाइएको छ ।
त्यसैगरी, सोही वर्षको लेखापरीक्षण प्रतिवेदनमा काठ चिरान खर्च ४ लाख ४० हजार देखाइए पनि वास्तविक दररेटभन्दा ३ लाख ६६ हजार ९१६ बढी खर्च देखाइएको अनुसन्धानमा उल्लेख छ । वनहेरालु पारिश्रमिकतर्फ आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा जम्मा २ लाख २० हजार खर्च देखाइए पनि वास्तविक रूपमा एक लाख ३० हजार मात्र भुक्तानी भएको पाइएको छ । यसमा ९० हजार बढी खर्च देखाई झुट्टा भरपाई बनाइएको आरोप छ ।
त्यसैगरी, विधान संशोधनका लागि काठमाडौँ गएको भन्दै अध्यक्ष लोक बहादुर महताराले एक लाख २० हजार लिएको तर उक्त रकम खर्चको आधार पुष्टि हुन नसकेको उल्लेख छ । घरभाडा शीर्षकमा ५२ हजार खर्च देखाइए पनि वास्तविक रूपमा ८ हजार मात्र भुक्तानी भएको पुष्टि भएपछि ४४ हजारको झुट्टा बिल बनाइएको पाइएको छ ।
यी सबै अनियमितताबाट जम्मा ७ लाख १५ हजार ९१६ बराबरको हिनामिना तथा गैरकानुनी हानिनोक्सानी भएको निष्कर्ष निकाल्दै प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर दाबी गरिएको छ ।
सोही ऐनको दफा अनुसार बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल उपरको माग दाबीसहित विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो ।








































