काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसद्मा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नभएको बताएका हुन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।
रावलले लेखेका छन्- ‘आज २०५३ साल जेठ १७ गते नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ । किनकि देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले “प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ” भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ । नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’
उनले अगाडि लेखेका छन्, ‘जो व्यक्ति संसद्मा यस्तो अभिव्यक्ति दिएर प्रकारान्तरले आफ्नो भू-भाग अरू देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसद्मा दिन्छ र प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त ?’
प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्ने माग उनले गरेका छन् ।
कहिल्यै कसैको अधिनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्ने उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘झन्डै दुई तिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्छ र जनताले त्यस्तो जवाफ खोज्नुपर्छ ।’







































