काठमाडौँ । राप्रपा विभाजन हुने निश्चित भएको छ । महामन्त्री डा. धवलशमशेर राणाले
विश्वसनीय राष्ट्र्वादी शक्ति निर्माण गर्ने बताउदै अगाडी बढ्ने स्पष्ट गरेका छन् ।
उनले आफुले विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गरेको तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भएको उल्लेख गर्दै राप्रपाको बाटो सहि लागे त्यहि बस्न र नलागे नयाँ राष्ट्रवादी शक्ति निर्माणमा लाग्न अपिल समेत गरेका छन् ।
उनले भनेका छन्-
शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरुको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु । समयको पदचाप र जनभावना अनुरुप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरुको सुझाव र शुभेच्छाहरु प्राप्त भएको छ । देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो । राप्रपामा आवद्ध साथीहरुलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु ।







































