वि.सं.२०८३ जेठ १५ शुक्रवार

लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक परिवर्तनको संस्थागत अभिव्यक्ति- सभामुख अर्याल

khanepani

काठमाडौ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक परिवर्तनको संस्थागत अभिव्यक्ति रहेको बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले आजको दिनलाई नेपाली जनताको लामो राजनीतिक संघर्ष, त्याग, बलिदान, समर्पण तथा लोकतान्त्रिक आकांक्षाको महत्वपूर्ण उपलब्धिका रूपमा इतिहासमा अंकित दिन भनेका छन्।

‘वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक अभ्यास, समावेशी शासन प्रणाली तथा सामाजिक न्यायको दिशामा भएको ऐतिहासिक परिवर्तनको संस्थागत अभिव्यक्ति हो,’ उनले भनेका छन्।

उनले वास्तविक लोकतन्त्र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, सामाजिक न्यायको प्रत्याभूति, अवसरको समान पहुँच, आर्थिक समृद्धि तथा सम्मानपूर्ण जीवनयापनको वातावरण निर्माणसँग प्रत्यक्ष सम्बन्ध रहने बताए।

प्रतिनिधि सभा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनभावना, जनचाहना तथा राष्ट्रिय आकांक्षालाई नीति, कानुन र संसदीय अभ्यासमार्फत सम्वोधन गर्ने महत्वपूर्ण दायित्व निर्वाह गरिरहेको उनले बताएका छन्।

‘लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ । लोकतन्त्रको सृदृढीकरणवाट मात्र जनताले अपेक्षा गरेको शुसासन, भष्टाचार नियन्त्रण र जनमुखि विकास प्राप्त हुन्छ र रोजगारी सृजना भई देश समृद्ध हुन्छ,’ उनले भनेका छन्।

१९ ‍औं गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता, सामाजिक न्याय तथा विकसित नेपालको साझा राष्ट्रिय संकल्पप्रति थप प्रतिबद्ध, प्रेरित र एकतावद्ध बनाउने अपेक्षा सभामखु अर्यालले व्यक्त गरेका छन्।

ranechhap