वि.सं.२०८३ जेठ ५ मंगलवार

हतारो देखाउँदै संसदीय सुनवाइ सभापतिले भने, ‘विशिष्ट समयमा विशिष्ट निर्णय लिनुपर्ने छ’

khanepani

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माको संसदीय सुनवाइ आजै टुंग्याउने गरी सत्तापक्षले तयारी गरेको छ । आज बिहान बसेको संसदीय सुनवाइ समितिको बैठकमा दुई पक्षबीच विरोधाभाष देखियो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले आजै उजुरीकर्तालाई बोलाइएको भन्दै चाँडो निर्णय लिनुपर्नेमा जोड दिएका थिए । उनले उजुरीकर्ता आउनु अघि सांसदहलाई उजुरी अध्ययन गर्न केही समय दिइने बताए ।

प्रतिपक्षी सांसदहरुले सत्तापक्षले अनावश्यक हतारो देखाएको भन्दै उजुरी अध्ययन गर्नका लागि समय चाहिने बताएका थिए । तर जवाफमा श्रेष्ठले विशिष्ट समयमा विशिष्ट लिनुपर्ने भन्दै सहयोग गर्न आग्रह गरे । साथै, उनले उजुरी सुन्ने क्रममा उजुरीकर्ताको गोपनीयताका कारण मिडियाकर्मीहरु बस्न नमिल्ने बताए ।

श्रेष्ठको भनाइ उनकै शब्दमाः

‘सबैको विचारको कदर गर्छु । हामीले यसलाई साँच्चै बढी टाइम लिउँ भने जति दिन लगाउँदा पनि हुन्छ । कहिलेकाहीँ विशिष्ट समयमा विशिष्ट निर्णय लिनुपर्छ । अहिले विशिष्ट समयमा विशिष्ट निर्णय लिनका लागि सहयोग गर्न अनुरोध गर्छु । मैले पाएको जानकारी अनुसार सचिवालयले सबै उजुरीकर्तालाई फोन गरिसकेको छ । केही त खुशी पनि हुनुहुन्छ, बाहिर फ्लाइटमा जानुपर्ने थियो, अहिले आउन पाएँ भनेर । उहाँहरुको कुरा पनि सुनौं । प्रश्नहरु त्यहीँ डिजाइन गर्न सकिन्छ । उजुरीकर्ताहरुको कुरा सुनेपछि एउटा निर्णयमा पुग्छौँ । उजुरीकर्ता आउनुअघि केही टाइम अध्ययनको गरौं । प्रत्यक्ष आउन नचाहनुभएका केही उजुरीकर्ता अनलाइनमा पनि जोडिने सम्भावना छ ।

कहिलेकाहीँ आफूले आफूलाई टेस्ट गर्नुपर्छ, छोटो समयमा कति काम गर्न सकिँदो रहेछ भनेर । सेल्फ च्यालेन्ज पनि रमाइलो हुन्छ क्या बेलाबेलामा । माननीय वर्षामान पुनले मलाई प्रेसरमा परेको हो कि भनेर चिन्ता व्यक्त गर्नु भयो । न्यायालय आन्तरिक द्वन्द्वमा गइरहँदा ‘यिनीहरुले एक दिन अगाडि गरिदिएको भए यो अवस्था आउँथेन’ भन्ने कुरा पनि आउन सक्थ्यो । त्यो चिन्ता मेरो अनुहारमा छ ।

उजुरीकर्ताको गोपनीयता र सुरक्षाको कारण मिडियाकर्मीलाई बाहिर राख्न निर्णय गरेका छौं ।

ranechhap