वि.सं.२०८३ वैशाख ३१ बिहीवार

लालपुर्जा नपाउन्जेल वास्तविक सुकुम्बासीले घरभाडास्वरुप मासिक १५ हजार रुपैयाँ पाउने

वास्तविक भूमिहिनलाई ‘फास्ट ट्रयाक’ बाट लालपूर्जा वितरण गर्ने सरकारको लक्ष्य

khanepani

काठमाडौं । सरकारले हाल वास्तविक सुकुम्बासी पहिचान प्रक्रिया तीव्र रुपमा अगाडि बढाइरहेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न ठाउँका सुकुम्बासी बस्ती हटाएर सरकारले त्यहाँका नागरिकलाई होल्डिङ सेन्टरमा राखेको छ ।

सरकारले वास्तविक सुकुमवासीहरूलाई लालपुर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि घरभाडा स्वरुप मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् ।

समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुमवासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए ।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपूर्जा वितरण गरिने सरकारको लक्ष्य छ ।

शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ ।

यसका साथै, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रवन्ध मिलाइएको सरकारी पक्षको दाबी छ ।

‘काठमाडौंको सन्दर्भमा होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ,’ ढकालले भने, ‘उहाँहरूले लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी छ र यसका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ ।’

सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

सरकारले वास्तविक भूमिहिनलाई ‘फास्ट ट्रयाक’ बाट लालपूर्जा वितरण गर्ने लक्ष्य लिएको छ ।

ranechhap