काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा साधारणतया बादल तथा देशका बाँकी भू-भागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।







































