काठमाडौँ । नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवङ्गत वामपन्थी नेता निर्मल लामा र आफूबिच सङ्घर्ष र एकताको सम्बन्ध रहेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले उनको निधनले वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा धेरै क्षति पुगेको बताए ।
‘नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा उहाँको लामो योगदान छ । कम्युनिस्ट आन्दोलन धेरै महत्त्व छ । हामीबिच मतभेद रहे पनि घनिष्ठ सम्बन्ध रहेको थियो । दरभंगा प्लेनममा पनि सँगै काम गरेका थियौँ । संविधानसभाको पक्षमा उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो’, सिंहले भने, ‘खासगरी २०२५ सालपछि पार्टीलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु भयो । २०३१ सालमा नेकपाको चौथो महाधिवेशन भयो । त्यस पार्टी नै ठुलो पार्टी थियो । पार्टीमा काम गर्ने सिलसिलामा हामीबिच मतभेद भए । तर मतभेद र एकीकरणको सम्बन्ध रह्यो ।’
सिंहले पञ्चायती चुनावलाई उपयोग गर्ने, नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण लगायत विषयमा आफूहरूबिच गम्भीर मतभेद रहेको स्मरण गरे । २०४० सालमा आफू र लामा नहुँदा पार्टी नै विभाजन भएको उनले स्मरण गरे । त्यस विभाजनले वामपन्थी आन्दोलनलाई ठुलो क्षति भएको सिंहले बताए ।
लामाको अन्तिम जीवनकालमा आफूहरूबिच घनिष्ठ सम्बन्ध रहेको पनि उनले जिकिर गरे ।








































