वि.सं.२०८३ वैशाख २७ आइतवार

तरुण दलको तदर्थ समिति विधानअनुसार नियुक्त गर्न माग, विधि मिचिए समानान्तर समितिको चेतावनी

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विधान अनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख २१ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलमा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भएको हो।

तत्कालीन केन्द्रीय अध्यक्ष विद्वान गुरुङले राजीनामा दिएपछि स्वतः विघटन भएको तरुण दलसहितका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ। सोही निर्णय अनुसार महिला संघमा तदर्थ समिति बनिसकेको भए तापनि तरुण दलमा भने विधानको पालनालाई लिएर विवाद देखिएको छ।

विधानविपरीत नेतृत्व चयनको गृहकार्य भइरहेको भन्दै तरुण दलका नेता तथा कार्यकर्ताहरूले यस्तो स्थिति आएमा ‘समानान्तर समिति’ गठन गर्ने चेतावनीसमेत दिएका छन्।

नेपाली कांग्रेसका तत्कालीन महामन्त्री तथा वर्तमान सभापति गगन थापा नेतृत्वको कार्यसमितिबाट पारित नेपाल तरुण दलको विधान (सातौँ संशोधन) को दफा ४३ उपदफा (२) ले अध्यक्ष पदका लागि स्पष्ट योग्यता तोकेको छ।

विधानअनुसार अध्यक्ष बन्नका लागि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव अनिवार्य हुनुपर्छ। साथै, संगठनको पूर्ण सदस्य भएको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ।

यसैबीच, पार्टी नेतृत्वले विशेष आवश्यकताको नाममा विधानभन्दा बाहिर गएर नियुक्ति गर्न खोजेको भन्दै युवा नेताहरूले प्रश्न उठाएका छन्। हिजो नेतृत्वमा पुग्नका लागि विधानको दफा १७ उपदफा (२) र (५) लाई वैधानिकताको आधार मान्नेहरूले नै आज भ्रातृ संगठनमा विधान मिच्न खोज्नु नैतिक रूपमा गलत भएको उनीहरूको तर्क छ।

‘यदि संघर्ष, योगदान र विधानभन्दा माथि पहुँच र व्यक्तिगत रोजाइ हाबी हुन्छ भने युवाको भरोसा कसरी बच्छ?’ भन्दै कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्।

यता तरुण दलको तदर्थ समिति गठनको विषयमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भने पार्टीले विशेष परिस्थितिमा आवश्यक निर्णय लिन सक्ने बताए । पौडेलले भने, ‘पार्टीले भ्रातृ संगठनलाई विधान दिने हो। विशेष आवश्यकतालाई ध्यानमा राखेर पार्टीले निर्णय गर्न सक्छ। विधानमा तोकिएजति नै सदस्य वा पदाधिकारी हुनुपर्छ भन्ने छैन, ११ देखि १३ सदस्यीय प्लेन कमिटी पनि बनाउन सकिन्छ।’

महामन्त्री पौडेलले अहिले सबै भ्रातृ संगठनहरूको तदर्थ समिति बनाउने विषयमा छलफल भइरहेको बताए। तरुण दल जस्तो प्रभावशाली युवा संगठनमा विधि मिचिए त्यसको असर पार्टीप्रतिको विश्वास र समग्र युवा पुस्ताको मनोबलमा पर्न सक्ने कतिपयको भनाइ छ ।

तरुण दलका एक नेताले अध्यक्षमा मनिष कोइरालालाई बनाउने सुनिएपनि विधान मान्ने हो भने उनी योग्य नै नभएको जिकिर गरे । कोइराला हालसम्म केन्द्रीय सदस्य समेत नभएको व्यक्ति भएको उनको भनाइ छ ।

ranechhap