वि.सं.२०८३ वैशाख १६ बुधवार

रास्वपा सांसद गणेश कार्की भन्छन्, ‘अध्यादेश ल्याउनु बहादुरी होइन’

khanepani

विराटनगर । रास्वपा सांसद गणेश कार्कीले सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गरेका छन् । कार्की प्रतिनिधिसभा अन्तर्गत राज्यका निर्देशक सिद्धान्त समितिका सभापति समेत हुन् ।

सामाजिक सञ्जालमा उनले झन्डै दुई तिहाइ ल्याएको पार्टीका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने कुरा पछि खुल्ने बताएका छन् ।

कार्कीले लेखेका छन् ‘झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । ’

कार्कीले वर्तमान सरकारले संविधानको अक्षरलाई मात्र पालना गरेको तर त्यसको मर्मलाई कुल्चिएको बताएका छन् ।

उनी थप्छन्,‘अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो, तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

कार्कीले अध्यादेशबारे आफ्नो धारणा माग्दै मेन्सन, म्यासेज आएको भन्दै प्रष्टीकरण दिएका हुन् । उनले यसअघिका सरकारले अध्यादेश ल्याउँदा पनि आफूले प्रश्न गरेको स्मरण गरेका छन् ।

करिब डेढ वर्षअघि कार्कीले संसदमा जवाफदेही हुनुपर्छ भनेर एमाले-कांग्रेस सरकार अध्यादेशको बाटोमा हिँडेको टिप्पणी गरेका थिए ।
उनले लेखेका थिए, ‘प्रतिपक्षमा रहेका दलहरू संसदको विशेष अधिवेशन बोलाउने कसरतमा छन् भन्ने सरकार चलाउने एमाले र कांग्रेसलाई थाहा छ । तर, उनीहरू विशेष अधिवेशन गर्‍यो भने संसदमा जवाफदेही हुनुपर्छ भनेर, संसदबाट आफ्नो अधिनायकवाद नागरिकले थाहा पाउँछन् भनेर अध्यादेशको अभ्यास गर्न खोज्दैछन् ।’

ranechhap