बैंकक । थाइल्याण्डमा एक ११ वर्षीय बालकले चलाएकाे ट्रक बौद्ध धार्मिक र्यालीमा जाेतिँदा कम्तीमा नौ जना भिक्षुहरूको मृत्यु भएको छ ।
स्थानीय उद्धार समूहले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा सुन्तला रंगको चीवर लगाएका भिक्षुहरू सडकमा लामबद्ध भएर हिँडिरहेको बेला उनीहरूमाथि ट्रक गुडेको देखिन्छ । फुटेजमा बिहीबार स्थानीय समय अनुसार बिहान ११ बजेभन्दा केही समय अघिको समय देखिएको छ।
यो घटना राजधानी बैंककबाट करिब ६५० किलोमिटर (४०० माइल) टाढा देशको उत्तर-पूर्वी सहर मुक्दाहानमा भएको हो ।
मुक्दाहान प्रान्तका गभर्नर वोरायान बुनारातका अनुसार ३४ जना बौद्ध भिक्षु र पाँच जना अनुयायीहरूको समूह त्यस प्रान्तको एक मन्दिरबाट छिमेकी प्रान्त उबोन रात्चाथानीको अर्को मन्दिरसम्मको तीर्थयात्रामा निस्किएको थियो ।
घटनास्थलका तस्बिरहरूमा घाइते मानिसहरू लडिरहेको र भिक्षुहरूका सामानहरू सडकभरि छरपस्ट भएको देखिन्छ ।
थाइल्याण्डमा बौद्ध भिक्षुहरूलाई निकै सम्मान गरिन्छ, जहाँ ९३ प्रतिशतभन्दा बढी जनसङ्ख्या यो धर्म मान्छन् । भिक्षुहरू प्रायः सार्वजनिक र्यालीहरू निकाल्छन् र सर्वसाधारणबाट दान-दक्षिणा ग्रहण गर्छन् । सार्वजनिक यातायातमा वृद्धवृद्धा र गर्भवती महिलाका साथै भिक्षुहरूका लागि पनि सिट छुट्ट्याउन भनिएका संकेत चिन्हहरू राखिएका हुन्छन् ।
बुनारातका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । मुक्दाहान प्रान्तीय कार्यालयले पछि नवौं भिक्षुको पनि मृत्यु भएको घोषणा गर्यो । कम्तीमा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ती बालकले अनुमतिबिना आफ्ना अभिभावकको पिकअप ट्रक लिएर निस्किएका थिए। करिब १० किलोमिटर (६ माइल) गाडी चलाएपछि उनले नियन्त्रण गुमाएर भिक्षुहरूलाई ठक्कर दिएका थिए ।
प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पाइरोज थाइफुट्राले अनुसन्धानकर्ताहरूले अझै पनि दुर्घटनाको परिस्थिति पत्ता लगाउने प्रयास गरिरहेकाले हालसम्म कुनै मुद्दा दर्ता नगरिएको बताएका छन् । उनले बालक अझै पनि मानसिक आघात (शक) को अवस्थामा रहेको र बयान दिन असमर्थ भएकाले अधिकारीहरूले उनीसँग सोधपुछ गर्न नसकेको थपे ।
थाइल्याण्डमा घातक सवारी दुर्घटनाहरू सामान्य हुन्। सडक सुरक्षाका हिसाबले विश्वकै खराब रेकर्ड रहेका देशहरूमध्ये यो एक हो, जहाँ तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु र कमजोर कानुन कार्यान्वयन मुख्य कारक मानिन्छन् ।
गभर्नर बुनारातले भने, `हामीले हालका वर्षहरूमा सडक सुरक्षामा धेरै कडाइ गरिरहेका छौं । यो घटना हाम्रो प्रान्तका लागि मात्र नभई सडक दुर्घटना न्यूनीकरणका सन्दर्भमा सर्वसाधारणका लागि पनि एउटा पाठ हुनुपर्छ। मलाई लाग्छ यसमा संलग्न सबैजना, विशेष गरी अभिभावकहरूले सहयोग गर्न आवश्यक छ, किनकि कसैले पनि यस्तो घटना होस् भन्ने चाहँदैन।´






































