वि.सं.२०८३ जेठ २५ सोमवार

दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

khanepani

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति सचिव कुमारबाबु अधिकारीलाई ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो ।

समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।

समितिले खड्कामाथि २०८२ फागुन २१ को निर्वाचनका क्रममा मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा पार्टी विरुद्ध बोलेको आरोप लगाएको छ। थापाद्वारा हस्ताक्षरित पत्रमा खड्काले ‘विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार गर्दिनँ’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख छ ।

उनलाई समितिले बाहिर रुखमा मत मागे जस्तो गर्ने तर भित्रभित्रै सूर्य (एमाले), घण्टी (रास्वपा) र माटोमा मत हाल्न लगाउने’ र एमाले उम्मेदवारलाई जिताउँछु भन्दै हिँडेको आरोप पनि लगाएको छ । समितिले खड्काले ‘कांग्रेसले चुनाव जित्दैन, कार्यक्रममा नजानू’ भन्दै कार्यकर्ताहरूलाई फोन समेत गरेको उजुरी समितिमा परेको पनि पत्रमा लेखिएको छ।

संखुवासभा कांग्रेस सचिव अधिकारीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । जिल्ला सचिव जस्तो जिम्मेवार पदमा रहेर पनि उनले आफ्ना निकट साथीहरूलाई सूर्य, घण्टी र माटोमा मतदान गर्न प्रेरित गरेको समितिले जनाएको छ।

समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ बमोजिम अनुशासन उल्लङ्घनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने ? पत्र प्राप्त गरेको ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू।’ भन्ने पत्र काटिएको हो।

ranechhap