काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित नमुना विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माणका क्रममा गैरकानुनी लाभ तथा हानि पुर्याउने उद्देश्यले झुट्टा बिल र मूल्याङ्कन तयार गरी सरकारी रकमको दुरुपयोग गरिएको पाइएको हो ।
अनुसन्धानका क्रममा राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको थियो। परामर्शदाताले तयार गरेको प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रहेकामा पछि संशोधित लागत अनुमान एक करोड पाँच लाख ७७ हजार ५९६ कायम गरिएको थियो।
आयोगका अनुसार निर्माण कार्य सम्पन्न भएको भन्दै एक करोड नौ लाख ८१ हजार ५०१ को प्राविधिक मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी थप रकम माग गर्ने तथा अन्तिम बिलमा बाँकी रहेको कामको रकमसमेत माग गर्ने निर्णय गरिएको थियो ।
स्थलगत नापजाँचका क्रममा भने ११ लाख १० हजार ११४ बराबरको काम बढी भएको देखाई नभएको कामको झुट्टा बिल तथा भरपाई तयार गरी सरकारी तथा विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्याई भुक्तानी लिएको आयोगको निष्कर्ष छ ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र विद्यालयका लेखापाल शेख
जहिरविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा सजायको माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।






































