काठमाडौं । पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको छ । नेपालमा पनि त्यसको असर देखापरिरहेको छ ।
नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गरेर उपभोग गर्ने गरेको छ । भारतले हरेक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।
प्रत्येक महिनाको १ तारिख र महिनाको अन्तिम दिनमा नयाँ मूल्य सूची आउने गरेको छ ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली नेपालमा लागू छ । तर, जुन सरकार आए पनि विरोध हुने डरले स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुन दिँदैनन् ।
हाल प्रधानमन्त्री बालेन शाहले आजसम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि सम्हालेका थिए । नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष वाणिज्य सचिव हुने व्यवस्था रहेको छ ।
१५ दिनमा ३ पटक मूल्य वृद्धि गर्दा पनि अझै निगम घाटामा रहेको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५–२५ का दरले मूल्य वृद्धि गरेको हो ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको थियो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१९, डिजेल र मट्टितेल प्रतिलिटर २०७ पुगेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० पुगेको छ । मूल्य वृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड घाटा हुने निगमले बताएको छ ।
बालेन प्रधानमन्त्री बनेपछि १४ दिनमा नै २ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । आज उद्योग मन्त्री नियुक्त भए पनि १४ दिनसम्म उद्योग मन्त्रालय प्रधानमन्त्रीले नै सम्हालेका थिए ।
निगमको स्वचालित मूल्य प्रणाली भनेको भारतबाट मूल्य वृद्धि भएर आए बढाउने र घटेर आए घटाउने हो । नयाँ मूल्य सूची अनुसार अहिले निगमले मूल्य वृद्धि गरेको होइन । १५ दिनमा नयाँ आएको मूल्य अनुसार स्वचालित मूल्य प्रणाली लागू गर्नुपर्ने ठाउँमा त्यो नगरेर पटक–पटक मूल्य वृद्धि गरिएको हो ।
राज्यले इन्धनका उपभोक्तालाई राहत होस् भनेर नै एकै पटक मूल्य वृद्धि नगरेको हो। मध्यपूर्वको युद्धका कारण पछिल्लो केही समयदेखि विश्व बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि मात्र भइरहेको छ ।
बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक चैत १७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो । सो समयमा पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ मूल्य वृद्धि भएको थियो । त्यतिबेला भारतबाट प्रतिलिटर पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ वृद्धि भएर आएको थियो । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १९० रुपैयाँ वृद्धि भएको थियो ।
बालेनले प्रधानमन्त्रीसँगै उद्योग मन्त्रालय पनि सम्हालेका बेला दोस्रो पटक चैत २६ गते पेट्रोल प्रतिलिटर १७ र डिजेल प्रतिलिटर २५ रुपैयाँ मूल्य वृद्धि गरिएको थियो । यस्तै, ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले वृद्धि गरिएको थियो ।
यो मूल्य भारतबाट मूल्य वृद्धि भएर आएकाले बढेको होइन । यसभन्दा अघि बढेर आएको मूल्य अनुसार समायोजन नगरिएकाले अहिले मूल्य बढाइएको हो। अझै पनि निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर १६ र डिजेलमा १०९ रुपैयाँ प्रतिलिटर घाटा रहेको छ । यस्तै, ग्यासको मूल्य प्रतिसिलिन्डर १०० वृद्धि गर्दा पनि ४१६ रुपैयाँ घाटा रहेको छ ।
चैत ११ गते पनि पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ मूल्य वृद्धि भएको थियो । चैत महिनामा मात्रै ३ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । चैत ११, १७ र २६ गते मूल्य वृद्धि भएको हो ।
बालेन सरकारले कर पनि घटायो
नयाँ सरकार बनेपछि इन्धनको मूल्यमा आएको वृद्धिलाई रोक्न सरकारले कर समेत घटाएको थियो। चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र पूर्वाधार करलाई आधा (५० प्रतिशत) घटाउने निर्णय गरेको थियो ।
सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार कर र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । यस निर्णयसँगै डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ लाग्दै आएको पूर्वाधार कर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ तथा डिजेलमा १२ रुपैयाँ भन्सार कर आधा घटाइएको थियो। यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९० रुपैयाँ आयात कर लाग्दै आएको छ ।
पेट्रोलमा पूर्वाधार कर ५ रुपैयाँ र भन्सार कर १२ रुपैयाँ गरी कुल १७ रुपैयाँ कर घटेको छ । डिजेलमा पूर्वाधार कर ५ रुपैयाँ र भन्सार कर ६ रुपैयाँ गरी कुल ११ रुपैयाँ कर घट्नेछ। ग्यासमा प्रतिसिलिन्डर ९० रुपैयाँबाट घटेर ४५ रुपैयाँ आयात कर कायम भएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू नभएका कारण पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा पनि घाटा रहेको बताए ।
उनले भने, ‘मध्यपूर्वको युद्धका कारण इन्धनको मूल्य धेरै वृद्धि भएको छ । भारतबाट आएको मूल्य सूची अनुसार मूल्य समायोजन हुन नसक्दा निगम घाटामा छ । पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू नभएको कारणले पटक–पटक मूल्य वृद्धि गर्दा पनि निगम घाटामा छ । युद्धको कारण धेरै मात्रामा मूल्य वृद्धि भएको छ। तर, नेपालमा भारतबाट वृद्धि भएर आए अनुसार मूल्य वृद्धि गरिएको छैन। युद्ध चलुन्जेल मूल्य अस्थिर नै हुने देखिन्छ ।’







































