वि.सं.२०८३ वैशाख ८ मंगलवार

प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमतिको बाटोमा हिँड्न सिटौलाको सरकारलाई आग्रह

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यु प्रोसेस अफ ल’ पूर्णरूपमा पालना गर्न सुझाव दिएका हुन् ।

नयाँ सरकार गठनपछिको विकसित राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सिटौलाले सरकारले गर्ने राम्रा काममा रचनात्मक सहयोग रहने प्रतिबद्धता समेत जनाए । सिटौलाले जनताको आकांक्षा पूरा गर्न सरकारले संविधानको मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिँदै वर्तमान सरकारको सुरुवाती कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

कुनै पनि आयोगको प्रतिवेदन सार्वजनिक नगरी वा संसद्मा पेश नगरी हतारोमा पक्राउ गर्ने र कार्यान्वयन गर्ने शैलीले कानुनी राज्यको उपहास गरेको उनको तर्क छ । कांग्रेसको इतिहास स्मरण गर्दै उनले आफ्नो पार्टी बदलाको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारे । विगतमा बहुमत र झण्डै दुई–तिहाइ पाएका सरकारहरू समेत टिकिरहन नसकेको इतिहासबाट पाठ सिक्न आग्रह गर्दै उनले सरकारलाई अहंकार नगर्न चेतावनी दिए ।

मुलुकका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको सिटौलाको भनाइ छ । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन, बेरोजगारी समस्या हल गर्न र विश्व राजनीतिमा आएको परिवर्तनका कारण विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेको समस्या सम्बोधन गर्न सबै दल एक ठाउँमा उभिनुपर्ने उनले बताए । विशेष गरी रुस–युक्रेन युद्ध र खाडी मुलुकमा बढ्दो तनावका बीच नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उनले उल्लेख गरे ।

सरकारको आलोचना र समर्थनका विषयमा बोल्दै उनले सरकारले सधैँ राम्रो काम गरोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘सरकारले राम्रो काम गरे समर्थन गर्ने र नराम्रो गरे विरोध गर्ने हाम्रो परम्परा हो, तर म चाहन्छु कि सरकारले सधैँ समर्थन गर्ने गरी काम गरोस्,’ उनले भने ।

मन्त्रिपरिषद् आफैँले कसैलाई पक्राउ गर भन्नु उचित नहुने भन्दै उनले यसले कानुनी प्रक्रियाको उपेक्षा गरेको टिप्पणी गरे । बेचन झा र प्रतीक थापा जस्ता व्यक्तिहरूले छिट्टै न्याय पाउनुपर्ने र जनताले न्याय भएको प्रत्यक्ष देख्न पाउनुपर्नेमा उनले जोड दिएका छन् ।

ranechhap