काठमाडौं । ‘सुशासन, सहकार्य र समुन्नति’ को नारासहित नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सार्वजनिक प्रतिज्ञापत्रमा उनले काठमाडौं–५ को पूर्वाधार विकास, स्वास्थ्य सुधार, डिजिटल रूपान्तरण र सांस्कृतिक प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् ।
२०७९ सालमा सांसद निर्वाचित भएपछि गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आफूले इमान्दारीपूर्वक प्रयास गरेको उल्लेख गर्दै पौडेलले चक्रपथ दोस्रो खण्डको निरन्तरता, सामाखुशी-टोखा सडक, विष्णुमति र साङ्लेखोला करिडोरलगायतका योजनामा प्रगति भएको दाबी गरेका छन्। मेलम्ची खानेपानी सेवा चक्रपथ बाहिर विस्तार तथा नयाँ लाइन निर्माणको काम अघि बढेको पनि उनले बताएका छन् ।
शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कूल’मा रूपान्तरण गर्ने, नेवारी र तामाङ मातृभाषासहित मौलिक सीप तथा ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ। सार्वजनिक-निजी साझेदारीमार्फत प्रविधिमैत्री अध्ययन वातावरण विकास गरिने उल्लेख छ।
स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई यसको दायरा विस्तार गर्ने तथा क्षेत्रलाई ‘मेडिकल हब’का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताललगायतका केन्द्रीय अस्पतालको क्षमता विस्तार गरिने योजना छ। बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ ।
डिजिटल रूपान्तरणअन्तर्गत क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’का रूपमा विकास गर्ने, एआई र डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय तालिमको व्यवस्था गर्ने तथा व्यवसायमैत्री कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।
पर्यटन र सांस्कृतिक प्रवर्द्धनतर्फ हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, धुम्बाराहीलगायत क्षेत्रलाई खुला संग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ। टोखाको बिस्का नखः, पाँहाचर्हे तथा हाँडीगाउँको चोखःते नारायणजात्राजस्ता परम्पराको ब्रान्डिङमार्फत पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।
सहरी व्यवस्थापनअन्तर्गत टुकुचा, धोबिखोला, सामाखुशी र साङ्ला खोलाको ढल समस्या समाधान, वर्षाे पानी निकास (स्टोर्म वाटर ड्रेनेज) व्यवस्थापन, सार्वजनिक पार्क विस्तार तथा सुरक्षित सडक अवधारणा कार्यान्वयन गरिने प्रतिबद्धता छ ।
सार्वजनिक यातायात सुधारका लागि तीनै तहको सहकार्यमा मास ट्रान्सपोर्ट प्रणाली, साझा डिजिटल भुक्तानी र रियल टाइम सूचना प्रणाली लागू गरिने योजना सार्वजनिक गरिएको छ। साथै, टोखा-छहरे सुरुङमार्ग र रसुवा-केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’का रूपमा विकास गर्न पहल गर्ने उल्लेख छ ।
यसैगरी सार्वजनिक जग्गाको संरक्षण, भूमिविहीनलाई लालपूर्जा वितरणमा गति, धनेश्वर खेल मैदान स्तरोन्नति तथा भूत्खया दह क्षेत्रको सरकारी जग्गामा पिकनिक र ध्यान केन्द्र विकासजस्ता विषय पनि प्रतिज्ञापत्रमा समेटिएका छन्।









































