वि.सं.२०८३ भदौ ३१ बुधवार

प्रधानमन्त्री शाहसँग कार्यवाहक अमेरिकी राजदूतले गरिन् शिष्टाचार भेटवार्ता

khanepani

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यवाहक राजदूत बोल्डिनले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

सो अवसरमा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउँदै जलवायु परिवर्तनको असर स्वरूप यस घटनाको सामना गर्नुपरेको बताएका छन् । साथै, उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताए ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरेकी छन् ।

उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराएकी छन् ।

ranechhap