वि.सं.२०८३ भदौ ३१ बुधवार

ईभी गाडीको दुर्घटना रोक्न सेफ्टी एजुकेसन र ट्रमा सेन्टरको खाँचो छ : सांसद बम

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारी साधनको दुर्घटना दर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक सुरक्षा र सवारी चालकको क्षमता अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

सांसद बमले भने, ‘ईभी गाडीको दुर्घटना दर निकै बढेको छ। यो समस्या केवल गाडीको मात्र नभई समग्र रोड सेफ्टी सिस्टमको हो।’

सवारी चालकमा देखिएको चरम लापरबाही र अनुभवहीनतालाई दुर्घटनाको एक मुख्य कारण औँल्याउँदै सांसद बमले सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया नै वैज्ञानिक नभएको जिकिर गरे। उनले दुर्घटना भएपछि गाडीलाई मात्र दोष दिने भन्दा पनि चालकको सीप, अनुभव र लाइसेन्स प्रणालीलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

उनले भने, ‘के हामीले नागरिकलाई ईभी किनेपछि त्यसलाई कसरी सुरक्षित र सही तरिकाले प्रयोग गर्ने भन्ने शिक्षा दिएका छौँ ? ईभीको प्रविधि फरक छ, यसको ब्याट्री व्यवस्थापन, चार्जिङ र दुर्घटनामा परेको बेला के गर्ने भन्ने विषयमा चालकलाई जानकारी छैन ।’
सांसद बमले सरकारलाई अविलम्ब व्यवस्थित ईभी सेफ्टी एजुकेसन कार्यक्रम सुरु गर्न, सवारी साधनको प्राविधिक पक्षबारे स्पष्ट सेफ्टी गाइड लाइन्स बनाउन र ड्राइभिङ लाइसेन्सको तालिममा ईभी सम्बन्धी छुट्टै मोड्युल राख्न माग गरे।

त्यसैगरी, उनले दुर्घटनापछिको उपचारका लागि देशभर ट्रमा सेन्टर’ विस्तार गर्नुपर्नेमा जोड दिए। ‘नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत सात जनाको मृत्यु हुने गर्छ। यो सङ्ख्यालाई शून्यमा पुर्‍याउने लक्ष्यका साथ सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने।

ranechhap