काठमाडौं । एमाले उपाध्यक्ष पीएस गुरुङले पुराना पार्टीहरू असान्दर्भिक नभएको दाबी गरेका छन्।
प्रेस चौतारीको साक्षात्कार कार्यक्रममा बोल्दै जनताले अनुहार नयाँ नखोजेको जिकिर गरे।
उनले भने, ‘चुनावमा हामी लागिसकेका छौँ तर बजारमा नयाँ भन्ने हल्ला चलिरहेको छ। नयाँ भनेको अनुहारमा कि विचारमा कि के हो ? जनताले नयाँ अनुहार खोजेका होइनन्, सुधारिएका पार्टीहरू खोजेका हुन्। परिष्कृत भिजन र नीतिसहित अघि बढेका पार्टी र नेता खोजेका छन्।’
उनले अहिले नेपालको संविधान र राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको बताए। उनले स्वाधीन नेपालको पक्षमा एमाले उभिएको भएकाले सबैभन्दा धेरै आक्रमण भएको उनको भनाइ छ।
उनले थपे, ‘हामीसँग अनुभव, परिपक्वता र ठोस नीति छ। मुलुकलाई चलाउनसक्ने हिम्मत र अठोट पनि छ। ठोस भिजन बोकेको पार्टी हाम्रो हो।’
उनले कांग्रेसको पार्टी सभापतिसहित पदाधिकारीमा नयाँ अनुहार आएको भएपनि नयाँ भिजन, नीति र कार्यक्रम नदेखिएको बताए।
उनले रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन शाहले दुई जनता जनतालाई फेस गर्न नसक्ने बताए। उनले सामाजिक सञ्जालबाट अहिले भ्रम छर्ने प्रयास भइरहेको भन्दै सचेत रहन पार्टीपंक्तिलाई आग्रह गरे।









































