वि.सं.२०८३ वैशाख ७ सोमवार

सुनसान सुनसरी १- बिना घोषणापत्र घरदैलो, हर्क साम्पाङको एक पन्ने पर्चा

khanepani

धरान । कोशी बाढी पीडित, सुकुम्बासी समस्या, खानेपानीका अभावको समाधानलगायतका चुनावी मुद्दा उठ्ने सुनसरी- १ निर्वाचनमा होमिएको छ ।

वर्षौंदेखि दलका चुनाव केन्द्रित मुद्दा यथार्थमा समाधान हुन सकेको छैन । धरान उपमहानगरका २० वटा वडा, वराहक्षेत्र नगरपालिकाका १ देखि ५ नम्बर वडा र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडाका १ लाख ५० हजार ३ सय ९३ मतदाता यी सबै समस्याको समाधान गर्न सक्ने प्रतिनिधि छान्न चाहन्छ्न् ।

तर, घरदैलो अभियानमा सुरु गरेका उम्मेदवारका जम्ल्याहा हात खाली छन् । अनुहारमा फिक्का मुस्कान र बनावटी आदर भावले मत आकर्षण गर्न सक्दैन ।

धरानका २० वटा वडामा १० वटामा जित निकालेको नेकपा एमालेका उम्मेदवार टीका माङ्लेन (लिम्बू) घरदैलो अभियानमा लागिसकेका छन् ।

एमालेले यो निर्वाचन क्षेत्रको प्रदेश सभा ‘क’ र ‘ख’ मा समेत आफ्ना उम्मेदवारलाई विजयी गराएको थियो । वराहक्षेत्रका ५ वटा वडामा ३ वटामा जित निकालेको छ । रामधुनीका २ वटा वडामा एउटा आफ्नो पक्षमा पारेको छ ।

विगतका निर्वाचनको तथ्याङ्कलाई हेर्दा दुबै प्रदेश सभा र कुल २७ वडामा १४ वडामा जित निकालेको एमाले साङ्गठनिक रुपमा बलियो देखिन्छ । तर, बलियो पार्टीले घरदैलो अभियान सुरु गरिसक्दा उम्मेदवारलाई जनतासामु खाली हात पठाएको छ ।

‘एमाले परिवर्तनको पक्षमा छ, राष्ट्रियताको पक्षमा छ, युवा उम्मेदवारलाई अघि सारेको छ, जनताको सुखदुःखमा साथै छ, विकास र समृद्धिको मुद्दामा निरन्तर अगाडि बढ्छ’, उम्मेदवार मुखैले आफ्ना कुरा राख्छन् । एमालेले घोषणापत्र निर्माण गर्ने जिम्मेवारी नेता मुरारी सुवेदीलाई दिएको छ ।

नेपाली कांग्रेसले सुनसरी- १ का २७ वडामा १० वटा वडामा जित निकालेको छ । धरानका ७ वटा वडा, वराहक्षेत्रका २ र रामधुनीको एउटा वडामा काङ्ग्रेसका उम्मेदवार विजयी भएका थिए । फागुन २१ गते निर्धारित निर्वाचनका लागि कांग्रेसले क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङलाई उम्मेदवार बनाएको छ । उनको हातमा समेत प्रतिबद्धतापत्र छैन । ‘कांग्रेस बदल्यौं, अब देश देश बदल्छौं’ भन्ने राष्ट्रिय नारालाई नै उनले पनि आत्मसात गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट धरान १७ मा लोकप्रिय मत ल्याएका सूर्यबहादुर भट्टराई (मनोज) निर्वाचन आयोगले अन्तिम मतदाताको सूची सार्वजनिक गरेको दिनदेखि नै घरदैलो अभियानमा छन् ।

उनको अभियान ‘माटो’ लाई जसरी पनि ‘माटा’ मै मिलाउनेमा केन्द्रित छ । उनले आफ्नो मुख्य प्रतिस्पर्धीका रूपमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरको प्रमुखबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हर्कराज राई साम्पाङलाई लिएका छन् । धरानको उपमेयर पदसहित एउटामात्रै वडामा विजयी यो पार्टीको साङ्गठनिक मत कमजोर रहे पनि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भट्टराई लोकप्रियताका आधारमा चुनावमा होमिएका हुन् ।
गत प्रतिनिधि सभाको निर्वाचनमा झिनो मतान्तरले तत्कालीन एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राईसँग पराजय बेहोरेकी गोमा तामाङ (सरिन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मत मागिरहेकी छन् । उनको बलियो आधार आफ्नो अभियन्ताको छवि र ‘घण्टी लहर’ मात्रै हो ।

निर्दलीय (स्वतन्त्र) उम्मेदवारका रुपमा गत स्थानीय तहको निर्वाचन जितेका धरान ६ र १४ का वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनीहरूको लोकप्रियताले राप्रपाको मत निर्धारण गर्छ । प्राध्यापक उद्धव श्रेष्ठ (मकै) लाई राप्रपाले यो क्षेत्रमा उम्मेदवार बनाएको छ । गत प्रतिनिधि सभा निर्वाचनमा उनले राप्रपालाई ७ हजार बढी मत दिलाएका थिए ।

सुनसरी– १ को चुनावी माहोलमा उज्यालो पार्टी नेपाल मैदानमा उत्रिएको छ । अशोक राई नेतृत्वको जसपा छाडेर उज्यालोमा आएका डम्बरबहादुर लिम्बू (जेन्टल लावती) उम्मेदवार छन् । कुलमान घिसिङको उज्यालो अभियानको लोकप्रियता उनको मत प्राप्त गर्ने आधार देखिन्छ भने जातीय मतसमेत उनले आकर्षण गर्न सक्ने देखिन्छ ।

श्रम संस्कृति पार्टीको घोषणा पत्रमा के छ ?
जेन–जी सरकारको नेतृत्व गर्ने उत्कट अभिलाषा पूरा नभएपछि धरान नगर प्रमुखबाट राजीनामा दिएर बाहिरिएका हर्कराज राई (साम्पाङ) प्रधानमन्त्री बन्ने महत्वकांक्षाले निर्वाचनमा होमिएका छन् ।

छोटो समयमै देशव्यापी सङ्गठन विस्तार गरेका साम्पाङले राष्ट्रियताको सवाललाई उठाएका छन् । तर उनको प्रतिबद्धतापत्रमा विगतमा जस्तो खानेपानीको मुद्दा उठेको छैन, न सुकुम्बासी समस्या समाधानको कुर उठेको छ, न त कोशी बाढीपीडित कै मुद्दालाई उनले आत्मसात् गर्न सकेका छन् ।

स्थानीय विकासका एजेण्डालाई उनको एकपाते घोषणापत्रले अमूर्तरूपमा उठाएको छ । सुनसरी-१ मा पर्ने धरान-वराहक्षेत्र र रामधुनीको सडक सञ्जाल कनेक्टिभिटीमा उनको प्रतिबद्धता पत्र मौन छ ।

उनको पार्टीले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक, समावेशी तथा धर्मनिरपेक्ष राज्यको वकालत गरिएको ।

पार्टीको मुख्य विचारधारा (हर्कवाद) प्रकृति–संस्कृति–प्रविधिमा आधारित रहेको छ, जसले श्रम संस्कृतिलाई नै देश परिवर्तनको सर्वोपरी माध्यम मानेको छ । घोषणापत्रमा ‘एक गाउँ एक उद्योग, एक व्यक्ति एक उद्यम’को अवधारणा अघि सारिएको छ । साथै, अनिवार्य श्रम र श्रमदानमार्फत जनसङ्ख्यालाई उत्पादनशील जनशक्तिमा रूपान्तरण गर्ने र स्वाधीन अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

पार्टीले भूपू गोर्खा सैनिक र सिंगापुर पुलिसबाट निवृत्त भएकाहरूको पेन्सन सुविधा र नागरिकताको निरन्तरताको पक्षमा अडान लिएको छ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी सैद्धान्तिक शिक्षाको सट्टा उत्पादन र आविष्कारमा आधारित जीवनोपयोगी शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ranechhap