आबुधावी । नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४९ वर्ष पूरा भएको छ ।
२२ जनवरी १९७७ मा सुरु भएको कूटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेर थप बलियो बनाएको थियो । सुरूमा कार्यवाहक राजदूतको रूपमा जिम्मेवारी सम्हाल्दै सन् २००७ को डिसेम्बर २१ बाट यूएईमा पूर्ण राजदूतले जिम्मेवारी सुरु गरेका थिए ।
यूएईका लागि हालसम्म तीन राजदूतले आफ्नो कार्यकाल पुरा गरिसकेका छन् । पहिलो राजदूतको रूपमा अर्जुनबहादुर थापा, दोस्रोमा धनञ्जय झा र तेस्रोमा कृष्णप्रसाद ढकालले राजदूतको जिम्मेवारी पूरा गरेका छन् । त्यस्तै मधुवन पौडेल, मोहनकृष्ण श्रेष्ठ, दीपक अधिकारी, नेत्रबहादुर टन्डन, सागर प्रसाद फुयाँल र केही समय विशाल भट्टराईले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए ।
हाल: तेजबहादुर क्षेत्रीले यूएईका लागि चौथो राजदूतको रूपमा छन् ।
यूएईले पनि सन् २०१६ को १० मे मा काठमाडौंमा दूतावास स्थापना गरेर कूटनीतिक सम्बन्ध थप विस्तार गरेको छ । यूएईको तर्फबाट अहिले दोस्रो राजदूतको रूपमा नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीले नेतृत्व गरिरहेका छन् ।
यूएईमा नेपालीको संख्या बढेसँगै दुबईमा कन्सुलेट कार्यालय राखिएको छ । दुबईका लागि महावाणिज्य दूतको रूपमा हरिप्रसाद ओडारीले दुबईमा कन्सुलेटको नेतृत्व गरिरहेका छन् ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध थप बलियो बनाउन पछिल्ला समय दुई देशका उच्च अधिकारीले नियमित रूपमा भ्रमण गर्दै आइरहेका छन् ।
नेपालका लागि भारत र चीनपछि यूएई तेस्रो ठूलो व्यावसायिक साझेदार मुलुक पनि हो । यूएईबाट वार्षिक ५ दशमलब १ प्रतिशत सामान नेपाल आयात गरिने र नेपालबाट जम्मा शून्य दशमलव ४ प्रतिशत मात्रै सामान यूएईमा निर्यात हुने गरेको छ ।
खास गरी यूएईबाट नेपालमा लगिने वस्तु र यूएईमा आउने नेपाली बस्तुको संख्यात्मक हिसाबको अन्तर र व्यापार घाटाबारे आर्थिक कुटनीतिमा बहस हुन नसकेको सरोकारवालाको भनाइ छ ।
दुबईमा महावाणिज्य दूतावास स्थापना भएपछि भने राजदूत स्तरमा उच्च अधिकारी तथा निकायमा भेट विस्तार तथा अर्थ, सांस्कृतिक , तथा इतिहास कूटनीतिमा कामहरू अगाडि बढाइएको र त्यसको प्रभाव र सम्बन्ध जनस्तरसम्म पुर्याउन लागि परेको यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री बताउँछन् ।
आगामी वर्ष यूएई नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष पुग्ने भए पनि १९८० कै दशकबाट नेपाली यूएई आउन सुरु गरेको देखिन्छ । हाल यूएईमा झन्डै ७ लाखभन्दा धेरै नेपाली कार्यरत रहेको तथ्यांक नेपाली दूतावास आबुधावीको छ।









































