एजेन्सी । भारतको विहार राज्यको बक्सरमा सोमबार स्थानीयहरूले गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू भेटाएका छन्।
उत्तर प्रदेशसँग सीमा जोडिएको उक्त जिल्लाको चौसा गाउँका मानिसहरूले ती शवहरू बग्दैबग्दै महादेवा घाटमा आइपुगेको बताएका छन्। ती शव कोरोना संक्रमणबाट मरेको मानिसको हुन सक्ने भन्दै उनीहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए।
‘यी कोरोना संक्रमण भएका मानिसका शव हुन्। ३०-३५ वटा त मैले आफैं देखेको हुँ। कसैले पूरै शव त कसैले आधा जलेको शव नदीमा फालेका छन्,’ एक स्थानीयले भनेका छन्।
कोरोना संक्रमितको अन्तिम संस्कार गर्न निकै महंगो हुने भएकाले मानिसहरूले शव नदीमा फालिदिएको हुन सक्ने स्थानीयको अनुमान छ।
स्थानीयहरूले १ सय ५० जति शव नदीमा तैरिरहेको बताए पनि बक्सर जिल्लाका अधिकारीहरूले ३० वटा शवमात्रै फेला परेको बताएका छन्।
प्रशासनले ती शवबारे अनुसन्धान गर्न समिति पनि बनाएको छ। स्थानीयहरूले शव नचिनेकाले उत्तर प्रदेशबाट ती शव आएको हुन सक्ने अधिकारीहरूको अनुमान छ।
यता उत्तर प्रदेशको गाजीपुरमा पनि केही शवहरू तैरिरहेको अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्।
नदीमा भेटिएका शवको अन्तिम संस्कारको प्रक्रिया सुरू भइसकेको छ।
भारतको उत्तर प्रदेश राज्यमा पनि कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिएको थियो।








































